माडीमा सशस्त्र प्रहरी बलको थप ३ वटा बोर्डर आउट पोष्टहरु स्थापना हुने

628
SwadeshPost

माडीमा सशस्त्र प्रहरी बलको थप ३ वटा बोर्डर आउट पोष्टहरु स्थापना हुने भएका छन् ।

माडी नगरपालिका वडा नं. १, ६ र ९ मा नयाँ बि.ओ.पी. क्याम्पहरु स्थापना हुन लागेका हुन् । तत्कालका लागि वडा नं. १ को चैनपुर गाउँँस्थित प्राथमिक विद्यालय भवनमा, वडा नं. ६ को लक्ष्मीनिवास गाउँस्थित रेशमखेतीको खाली भवनमा र वडा नं. ९ को राइटोल गाउँस्थित विद्यालय भवनमा अस्थायी क्याम्प स्थापना गर्ने शसस्त्रको प्रारम्भीक तयारी छ । अस्थायी क्याम्प रहने दुईवटै विद्यालय मर्ज भई हाल खाली रहेका छन् ।

नयाँ क्याम्प रहने भवनमा हाल संरचना निर्माण तथा मर्मतको काम अगाडि बढेको र केहि दिनपछि क्याम्प स्थापना हुने जनाइएको छ । तीनवटै क्याम्पहरुमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको टुकडी बस्न लागेको हो । भारतसँग ८८ किलोमिटर सिमाना जोडिएको चितवनमा हाल बाल्मीकि आश्रम, बाँदरझुला र छरछरेमा तीन वटा मात्र पोष्ट छन् । एउटा पोष्टको जिम्मामा २९ किलोमिटर सीमा रहेको छ । तीनवटा नयाँ पोष्ट थप भएपश्चात चितवनमा बि.ओ.पी. पोष्टहरुको संख्या पाँच पुग्नेछ ।

सरकारले गत ४ पुस २०७६ मा भारतसँग जोडिएका सिमानामा सशस्त्र प्रहरीका ११४ वटा नयाँ बोर्डर आउट पोष्टहरु थप गर्ने निर्णय गरेको थियो । शसस्त्र प्रहरीलाई सीमा सुरक्षा सहित अपहरितको उद्धार, भीड नियन्त्रण, पृथकतावादी आन्दोलन नियन्त्रण, औद्योगिक सुरक्षा, भन्सार, राजस्व अनुसन्धान र विपत व्यवस्थापन लगायत १३ वटा जिम्मेवारी दिइएको छ । यसैबिच, सशस्त्र प्रहरीको नयाँ निर्माण हुन लागेका तीनवटै अस्थायी पोष्टहरुको चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई नेतृत्वको जिल्लास्तरीय टोलीले अनुगमन गरेको छ ।

SwadeshPost