आशिष निर्माण सेवाको ट्रिपरका कारण भाँचिएको माडीको पुल सो निर्माण कम्पनीले नै मर्मत गरिदिने

454
SwadeshPost

माडीको हुलाकी बाटो कालोपत्रे गर्ने कार्यमा खटिएको आशिष निर्माण सेवाको ट्रिपरका कारण भाँचिएको पुल सो निर्माण कम्पनी ले नै मर्मत गरिदिने भएको छ ।

माडी नगरपालिका-२ लौंगाईबाट माडी-४ सिधुवा जाने बाटोमा रहेको पुल आशिष निर्माण सेवाको लोडेड ट्रिपर गुड्दा भाँचिएको थियो । मुलबाटो हुँदाहुँदै अनावश्यक डाइभर्सन लिएर भित्री बाटोबाट गिट्टी ढुवानी गर्न खोज्दा पुल भाँचिएको स्वीकार्दै सो निर्माण सेवाले पुलको स्ल्याब मर्मत गरिदिने जनाएको हो । स्वदेशसंग कुराकानी गर्दै आशिष निर्माण सेवाका माडी फिल्ड प्रमुख कविराज जोशीले पुलको स्ल्याब निर्माण गरिदिने प्रतिबद्धता जनाउनुभयो । आशिष निर्माण सेवाको ना.१ख. ४९४७ नम्बरको ट्रिपर गुड्दा पुलको स्ल्याब भाँचिएको हो ।

खेतमा ट्रयाक्टर र गाडा लैजान सिधुवाबासीहरुले श्रमदान गरी निर्माण गरेको सो पुल लोडेड ट्रिपर लगायतका भारी सवारी साधनको भार बहन गर्न सक्ने क्षमताको थिएन । माडीका भित्री बाटोका कतिपय पुलहरु समेत भारी सवारी साधनको भारबहन गर्न नसक्ने अवस्थामा रहेका वा जीर्ण भइसकेका छन् । करीब पाँच बर्षअघि समेत ट्रिपरकै कारण माडीको बरुवा र लक्ष्मुनिया जोड्ने पुल भाँचिएको थियो ।

SwadeshPost