थारु कल्याणकारिणी सभाद्वारा कोरोना महामारीबिच चाडपर्व मनाउने छुट्टै कार्यबिधी जारी

408
SwadeshPost

थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति चितवनले कोरोना महामारीको परिस्थितिमा चाडपर्वहरु मनाउन छुट्टै कार्यबिधी जारी गरेको छ ।

‘चितोनिया थारु समुदायको चाडपर्व कार्यविधि-२०७७’ नाम दिइएको सो कार्यबिधीमा चितवनमा बसोबास गरिरहेका थारु समुदायले कोरोना महामारीको अवस्थामा आउँदो जितिया र यमोसा (पितृ औंसी) पर्वसंगै दशैं, सोहराई (तिहार), छठ, एकादशी, खिचरा (माघे संक्रान्ति), फगुवा (फागु पूर्णिमा) र चैतलवमी (चैते दशैं) पर्व मनाउने तौरतरिका निर्दिष्ट गरिएको छ ।

कार्यबिधी अनुसार जितिया पर्व मनाउँदा चेलीबेटीलाई निम्ता गरी बेलाउने वा लिन जाने (लेलहारी) नगर्ने, चेलीबेटीको लागि कोसेली (पहुरा) पु¥याउने कार्य नगर्ने, ब्रतालुहरु दर (डट्खट्) खाने, बेल्पाती टिप्ने, बदहा गाउने, रेकर्ड गरिएका कथा सुन्ने एवम् पूजापाठ गर्ने कार्यहरु घरपरिवारमा भएका सदस्यहरुमै सीमित भई गर्ने र सामूहिक रुपमा गरिने क्रियाकलापहरु बदहा गाउने, झम्टा पार्ने, बेल्पाती लोर्ने जस्ता कार्य नगर्ने भनिएको छ ।

त्यसैगरी यमोसा पर्व (पितृ औंसी) मा गाउँघरका सानादेखि ठूला व्यक्तिहरु समूह बनाई एकअर्काको घरमा गीतबाँस गाउँदै खाना खाने प्रचलन नगर्ने, पितृ सम्झनामा पितृको रुपमा पहुनी स्थापना गरी घरपरिवारमै सीमित रहेर यमोसा मनाउने र सामूहिक रुपमा बरहा झुलाई लगायत अन्य कार्यक्रम नगर्ने निर्दिष्ट गरिएको छ । यता, माडीमा भने थारु कल्याणकारी सभा क्षेत्र नं. १, माडीको बैठकले सामाजिक दुरी कायम गरी मास्क लगाई एकै गाउँका धेरै ठाँउहरुमा सानो समूहबिच जीतबाहनको कथा सुन्ने तथा एकाघर परिवारबिच जितिया मनाउने छुट्टै निर्णय गरेको छ ।

SwadeshPost