भारतमा बेचबिखनमा परेका माडी बगहीँकी एक युवती र एक बालिकाको उद्धार

430
SwadeshPost

चितवन । भारतमा बेचबिखनमा परेका माडी बगहीँकी एक युवती र एक बालिकालाई उद्धार गरी स्वदेश ल्याइएको छ ।

दश महिनादेखि भारतको उत्तर प्रदेशस्थित महाराजगञ्जमा एक आर्केष्टा कम्पनीमा बन्धकका रुपमा काम लगाइएका माडी-९, बगहीँकी २२ बर्षीया युवती र उनकी ४ वर्षकी बालिकालाई उद्धार गरी नेपाल ल्याइएको हो । उनीहरूसंगै पूर्वी चितवनकी एक १७ बर्षीया किशोरीको समेत उद्धार भएको छ । उनीहरुलाई नवलपरासी पश्चिमस्थित आफन्त नेपाल महेशपुर शाखाले नेपाल र भारतीय प्रहरी तथा स्थानीय जनप्रतिनिधिको सहयोगमा उद्धार गरी ल्याएर सीमावर्ती ठुटीबारी नजिकैको महेशपुर शाखाको सेल्टरमा राखेको छ ।

जागिर तथा विवाहको प्रलोभनमा परी उनीहरु भारत पुगेका थिए । त्यहाँ पुगेको केही महिनापछि आर्केष्टा कम्पनीका मालिकले आफूहरुलाई बेचबिखन गर्न लागेको थाहा पाएपछि माडी युवतीले दुबईमा रहेका दाजुलाई फोनमार्फत जानकारी जानकारी गराएकी थिएन । घटनाबारे दुबईबाट दाजुले माडीमा रहेको परिवारलाई जानकारी दिएसंगै युवतीका आफन्तहरुले माडीको बसन्तपुरमा रहेको आफन्त नेपालको फिल्ड कार्यालयमा खोजतलासका लागि निवेदन दिएसंगै खोजी र उद्धारको पहल सुरु भएको थियो ।

आर्केष्टाका मालिकले भारतकै बिहारका तीन जना व्यक्तिलाई रु एक लाखमा बिक्री गर्न लागेपछि आफूहरुले प्रतिकार गरी दाजुलाई फोन गरेको उद्धार गरिएकी माडीकी युवतीको बयान छ । उनीहरुलाई करीब एक महिनाको मिहिनेत र फलोअप पश्चात उद्धार गर्न सकिएको आफन्त नेपालकी माडी फिल्ड प्रतिनिधी सपना श्रेष्ठले स्वदेशलाई जानकारी दिनुभयो ।

SwadeshPost