माडीको कान्तिपुर गाउँमा १०० जना क्षमताको होमस्टे निर्माण हुँदै

888
SwadeshPost

चितवन । माडीको कान्तिपुर गाउँमा सामूहिक खेतीमा आवद्ध कृषकहरु होमस्टेमार्फत कृषि पर्यटनको विकासमा समेत लागिपरेका छन् ।

माडी नगरपालिका वडा नं. ८, कान्तिपुरमा कृषकहरुले आवास घरहरुमा होमस्टे स्थापना गरी कृषिसंगै पर्यटन व्यवसायमा हात बढाएका हुन् । सूर्योदय कृषि सहकारी संस्थामार्फत सामूहिक खेती गरिएको सो ठाउँमा १०० जना क्षमताको होमस्टे निर्माण भइरहेको हो । स्थानीय ८६ घर परिवारको जग्गा एकीकृत गरी सामूहिक खेती गरिएको सो स्थानमा घर आवश्यक भएका ५० परिवारका लागि पक्की घर बनाई त्यहीँ होमस्टे सञ्चालन गर्न लागिएको सहकारीका व्यवस्थापक शिवजी गायकले जानकारी दिनुभयो ।

हाल दश वटा घरको निर्माण अन्तिम चरणमा पुगेको छ । २८ वटा घरको झ्याल ढोका हालिँदै छ भने १२ वटा घर निर्माणका लागि जग खन्ने काम शुरु भएको छ । अन्तिम चरणमा पुगेका १० घरमा प्लाष्टर गर्न मात्र बाँकी छ । गत असार मसान्तमै सकिनुपर्ने निर्माणकार्य लकडाउनका कारण ढिलाइ भएको सहकारीको भनाई छ । घर निर्माणका निम्ति वाग्मती प्रदेश सरकारले एउटा घरको रु तीन लाख र माडी नगरपालिकाले रु एक लाख ५० हजार घरधनीलाई सहयोग गरेको छ ।

SwadeshPost