भौगोलिक तथा पुरातात्विक अध्ययन गरेर नै रामधाम निर्माण कार्य अगाडि बढाइएको प्रधानमन्त्री ओलीको दावी

719
SwadeshPost

प्रधानमन्त्री के.पी. शर्मा ओलीले भौगोलिक तथा पुरातात्विक अध्ययन अनुसन्धान गरेर नै माडीको अयोध्यापुरीमा रामधाम निर्माणको कार्य अगाडि बढाइएको दावी गर्नुभएको छ ।

माडीको अयोध्यापुरीस्थित गणेशकुञ्जमा रामचरित मानस को सामूहिक पाठपारायण कार्यक्रमलाई शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले रामधाम निर्माणको अभियानलाई अगाडि बढाएकोमा माडी नगरपालिका, अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समिति, विभिन्न सामाजिक संघसंस्था र अभियन्ता एवं स्थानीयबासीहरुलाई कृतज्ञता धन्यवाद समेत ज्ञापन गर्नुभएको हो ।

रामधामको निर्माणले माडी क्षेत्रको पर्यटन प्रवर्द्धन, प्राचीन सभ्यताको संवर्द्धन र माडीको योजनाबद्ध विकासमा सहयोग पुग्ने प्रधानमन्त्री ओलीको भनाई छ । त्यसैगरी सोह्रौं शताब्दीमा गोस्वामी तुल्सीदासद्वारा अवधी भाषामा लिखित रामचरित मानस पुस्तक पण्डित तुल्सीराम शर्माले नेपालीमा सम शैली र सम छन्दमा पद्य अनुवाद गर्नुभएकोमा अध्यात्म क्षेत्रमा ठूलो योगदान पुगेको पनि प्रधानमन्त्री ओलीद्वारा हस्ताक्षरित वक्तव्यमा जनाइएको छ ।

SwadeshPost