पुरातत्व विभागद्वारा अयोध्यापुरीमा उत्खनन् र अनुसन्धान कार्य सुरु गर्न ढिलाइ

1.01K
SwadeshPost

प्रधानमन्त्री के.पी. शर्मा ओलीले माडीको भौगोलिक तथा पुरातात्विक अध्ययन अनुसन्धान गरी रामधाम निर्माणको कार्य अगाडि बढाइएको दावी गर्नुभएपनि पुरातत्व विभागले भने हालसम्म अयोध्यापुरीमा उत्खनन् र अनुसन्धान कार्य सुरु नै गरेको छैन ।

प्रधानमन्त्री ओलीले माडीको अयोध्यापुरी क्षेत्रलाई त्रेतायुगीन भगवान रामको जन्मस्थान बताउनुभएसंगै पुरातत्व विभागले गत श्रावण पहिलो सातादेखि माडीमा उत्खनन सहितको अध्ययन गर्ने जनाएको थियो । तर, चार महिना बितिसक्दा पनि विभागका अनुसन्धानकर्ताहरु माडी आइपुगेका छैनन् । यस बिचमा विभागमा अध्ययनरत केहि विद्यार्थीहरु भने माडीमा आएर यहाँ भेटिएका पुरातात्विक बस्तुहरुको अध्ययन गरी फर्केको माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालले बताउनुभयो । नगरपालिकाले हालसम्म भेटिएका पुराना ईंटा, पुराना भवनका भग्नावशेष र सिक्का लगायतका पुरातात्वीक बस्तु र धार्मिक स्थलहरुको संरक्षण भने गरिरहेको उहाँको भनाई छ ।

पौराणिक एवं धार्मिक पुस्तक र शास्त्रहरुमा उल्लेखित श्लोक र लिखतहरुको आधार तथा रामायणसंग निर्विवाद जोडिएको बाल्मीकि आश्रमसंगै परशुराम कुण्ड, सीताराम गुफा, नर्तनाँचल लगायतका स्थानहरुको कारण माडीलाई श्रीरामको जन्मस्थान भनिएपनि यी क्षेत्रहरुको पुरातात्विक महत्वबारे अहिलेसम्म खोज अनुसन्धान नहुँदा श्रीरामको जन्मस्थानको बिषय सर्बस्वीकार्य हुन सकिरहेको छैन । प्रधानमन्त्री ओलीले गत असार २९ गते २०७ औँ भानु जयन्तीका अवसरमा आयोजित कार्यक्रममा रामको जन्म नेपालकै अयोध्यापुरीमा भएको बताउनुहुँदै साँस्कृतिक अतिक्रमण रोक्न थप अध्ययन एवं अनुसन्धान हुनुपर्ने बताउनुभएको थियो ।

SwadeshPost