पूर्वस्वीकृति नलिई मध्यवर्ती क्षेत्रमा पोखरी खन्न सम्झौता गरेको भन्दै निकुञ्जद्वारा माडीका वडाध्यक्षहरुसंग बयान

795
SwadeshPost

आफ्नो पूर्वस्वीकृति नलिई मध्यवर्ती क्षेत्रमा पोखरी खन्न सम्झौता गरेको भन्दै निकुञ्ज प्रशासनले कसरामै बोलाई माडीका वडाध्यक्षहरुको बयान लिएको छ ।

कसराले मंगलबार माडीका वडाध्यक्षहरु ईश्वरी ढकाल, पुरन महतो, चन्द्रदीप महतो र रामबन्धु पोखरेलसंग लिखित बयान लिएको हो । नगरपालिकाको कार्यपालिकाले आफ्नो पूर्वस्वीकृति वेगर एकीकृत कृषि वनविकास (प्रा.) लि. नामको कम्पनीसंग रुख बुट्यानहरु मास्नेगरी माडी ९, कृष्णनगरमा पोखरी खन्न सम्झौता गरेको निकुञ्जको आरोपपत्रमा उल्लेख गरिएको छ ।

बयान दिने क्रममा वडाध्यक्षहरुले स्थानीय सरकार सञ्चालन ऐन २०७४को दफा ११ को उपदफा २ (ङ) र नेपालको संबिधान २०७२ को अनुसुची ८ को अधिनमा रहनेगरी स्थानीय सरकारले तटबन्धन, जमीन संरक्षण, आयआर्जन, पर्यापर्यटनको विकास र मानव एवं बन्यजन्तुबिचको द्वन्द न्यूनिकरण समेत हुनेगरी कम्पनीसंग सम्झौता गरेको जवाफ दिएको बुझिएको छ ।

माडी नगरपालिकाले २०७६ भदौ ८ गतेको कार्यपालिका बैठकबाट निर्णय गरी प्रसाईंको कम्पनीसंग २०७६ कार्तिक २४ गते सार्वजनिक नीजि साझेदारीमा एकीकृत मत्स्यपालन तथा पर्यटन सञ्चालन सम्बन्धी सम्झौता गरेको थियो । त्यसलगत्तै कम्पनीले पोखरी खन्न स्काभेटर लगाएकोमा निकुञ्जले चालकसहित स्काभेटर नियन्त्रणमा लिएको थियो भने अध्यक्ष प्रसाईंलाई पक्राउ समेत गरेको थियो । यसप्रकारका घटनाहरुले माडीमा जारी विकास निर्माणका योजनाहरुमा निकुञ्जको अवरोध बढ्दै गएको माडीबासीहरुले महसुस गरेका छन् ।

SwadeshPost