माडीमा छैठौं बोर्डर आउट पोस्ट स्थापित, सशस्त्रका डि.आई.जी. श्रेष्ठद्वारा कल्याणपुर बि.ओ.पी.को उद्घाटन

354
SwadeshPost

चितवन । माडी नगरक्षेत्रमा छैठौं सशस्त्र बि.ओ.पी. क्याम्प स्थापना भएको छ । माडी–६, स्याउलीबास गाउँमा रहने सशस्त्र प्रहरीको कल्याणपुर बोर्डर आउट पोस्ट तत्कालका लागि माडी ५ राधापुरमा स्थापित भएको हो ।

स्याउलीबासमा बि.ओ.पी. क्याम्प रहने स्थानको मर्मत र थप निर्माण कार्य पुरा नहुँदासम्म सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी. कल्याणपुर नामका सो क्याम्प राधापुरस्थित कालीका आधारभूत विद्यालयको भवनमा स्थापित भएको हो । अस्थायी रुपमा राधापुरमा स्थापित बि.ओ.पी. क्याम्पको शसस्त्र प्रहरी बलका बागमती प्रदेश प्रमुख डि.आई.जी. मन्दिप श्रेष्ठले उद्घाटन गर्नुभयो । कार्यक्रममा शसस्त्र प्रहरीका अधिकारीहरुसंगै वडा नं. ५ र ६ का वडाध्यक्षद्वय रामबन्धु पोखरेल र भरत बहादुर गुरुङ र विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

यसअघि गत असोज ११ गते आइतबार माडीको चैनपुर र राइटोल गाउँमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्टहरु उद्घाटन गरिएको थियो । सो समयमै कल्याणपुर बि.ओ.पी.को उद्घाटनको कार्यक्रम रहेपनि क्याम्प रहने ठाउँको टुंगो नलाग्दा उद्घाटन रोकिएको थियो । माडी क्षेत्रमा बाँदरझुला, राइटोल, छरछरे, भंगता र बाल्मीकि आश्रममा गरी पाँचवटा शसस्त्र बि.ओ.पी. क्याम्प रहेकोमा कल्याणपुर बि.ओ.पी. समेत स्थापित भएसंगै यसको संख्या ६ पुगेको हो ।

SwadeshPost