माडी नगरपालिका शिक्षा शाखाद्वारा आधारभूत विद्यालयहरुमा दिवाखाजाको व्यवस्था लागु

1.03K
SwadeshPost

चितवन । माडी नगरपालिका शिक्षा शाखाले नगर क्षेत्रभरका सबै आधारभूत विद्यालयहरुमा दिवाखाजाको व्यवस्था लागु गरेको छ ।

कक्षा ५ सम्म अध्ययन गर्ने सबै विद्यार्थीहरुलाई दिवाखाजाका लागि प्रतिव्यक्ति प्रतिदिन १५ रुपैंया उपलब्ध गराइएको नगर शिक्षा शाखाले जनाएको हो । नगरक्षेत्रका कतिपय आधारभूत विद्यालयहरुमा यसअघि नै दिवाखाजाको व्यवस्था लागु रहेकोमा शाखाले सबै सामुदायिक आधारभूत विद्यालयहरुमा दिवाखाजाको अनुदान लागु गरेको हो ।

दिवाखाजाका रुपमा चाउचाउ, कुरकुरे, चिजबल्स जस्ता जंकफुड भने खुवाउन नपाइने शिक्षा शाखाको परिपत्रमा उल्लेख गरिएको छ । दिवाखाजाको व्यवस्थाबाट आधारभूत तहका विद्यार्थीहरुलाई नियमित रुपमा विद्यालय जान प्रेरित गर्नुका साथै न्यून आय भएका वा बिपन्न परिवारका अभिभावकहरुलाई राहत पुग्ने विश्वास गरिएको छ ।

SwadeshPost