अपाङ्ग दिवसको अवसरमा माडीका दृष्टिबिहीन कलाकार एवं सञ्चारकर्मी पाठक सम्मानित

464
SwadeshPost

अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसर पारी माडीका दृष्टिबिहीन हाँस्य कलाकार एवं सञ्चारकर्मी भूपराज पाठकलाई सम्मान गरिएको छ ।

दिवसको सन्दर्भमा आयोजित माडी नगर अपाङ्ग उत्थान समन्वय समितिको पाँचौ साधारणसभा तथा दोश्रो अधिवेशन कार्यक्रममा कलाकार पाठकलाई माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले नगदसहित सम्मान गर्नुभएको हो । हालैमात्र राष्ट्रियस्तरको वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुभएका पाठक हाँस्य कलाकारिताको क्षेत्रमा उदीयमान प्रतिभा तथा ब्रेल लिपीबाट समाचार वाचन गर्ने सञ्चारकर्मीका रुपमा परिचित रहनुभएको छ ।

यसैबिच, कार्यक्रमकै अवसर पारी माडीका दृष्टिविहीनहरुलाई सहायता सामग्रीस्वरुप सेतो छडी वितरण गरिएको छ । माडी नगरपालिका र गर्दी सामुदायिक पुस्तकालयको सहयोगमा माडी नगर अपांग उत्थान समन्वय समितिले माडीभरका १५ जना दृष्टिविहीनहरुलाई सेतो छडी वितरण गरेको थियो । यसबर्ष ‘कोभिड १९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता, अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासको लागि हामी सबैको प्रतिवद्धता” भन्ने नारासहित २९ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइएको हो ।

SwadeshPost