आज बालाचतुर्दशी, सतबीज छर्न बैकुण्ठ क्षेत्रमा देशैभरका भक्तजनहरुलाई स्वागत

1.25K
SwadeshPost

चितवन । आज बालाचतुर्दशी पर्व, बैकुण्ठ स्नान र शतबीज छरेर मनाइँदैछ । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

आजको दिनमा पशुपतिनाथ र देवघाट लगायतका धार्मिक क्षेत्रहरुले बालाचतुर्दशी स्नान र सतबीज छर्न नआउन अनुरोध गरिरहँदा माडीको बैकुण्ठे क्षेत्रमा भने देशैभरका भक्तजनहरुलाई स्वागत गरिँदैछ । माडी ८ का वडाध्यक्ष कृष्णराज अधिकारीले बालाचतुर्दशीमा बैकुण्ठ क्षेत्रमा सतबीज छर्न, घुमफिर र स्नान गर्न सार्वजनिक आमन्त्रण गर्नुयो । कोरोनाको कहर जारी नै रहेपनि यसबर्षको बालाचतुर्दशीमा बैकुण्ठे क्षेत्रमा सतबीज छर्ने कार्यक्रम नरोकिएको उहाँको भनाई छ ।

हरेक बर्ष मंसिर कृष्ण चतुर्दशी अर्थात बालाचर्तुदशी पर्वका अवसर पारी माडी ८, बैकुण्ठे क्षेत्रमा सतवीज छर्ने, बैकुण्ठ स्नान गर्ने र मेला भर्ने प्रचलन रहेकोमा यसबर्ष मेला, खेलकुद र साँस्कृतिक कार्यक्रमबाहेक अन्य सबै कार्यक्रमहरु यथावत सञ्चालन हुने वडाध्यक्ष अधिकारीले बताउनुभयो । मेलास्थलसम्म गाडीहरु पुग्न सक्नेगरी बाटो मर्मत समेत गरिएको र सत्तल, पाटी, पञ्चधारा र मन्दिरहरु खुला रहेको पनि उहाँले जानकारी दिनुभयो ।

SwadeshPost