परूइ खोला सिरानको पहिरो हटाइ पूर्ववत खोला बगाउने तयारी

784
SwadeshPost

चितवन । सुख्खा पहिरोका कारण थुनिएको माडीको परुई खोला सिरानको पहिरो हटाइ खोलालाई पूर्ववत बगाइने भएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहितको जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको टोलीले पहिरो क्षेत्रको स्थलगत अध्ययन तथा अनुगमनपछि खोला थुनेको पहिरो हटाउने तयारी गरिएको हो । यसका लागि नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा नगरपालिकाको प्राविधिक टोलीले काम थाल्ने जनाइएको छ ।

थुनिएको खोलामा पानी भरिँदै गएमा वर्षातमा एकै साथ फुटेर ठूलो नोक्सान हुन सक्ने माडीका नगर प्रमुख ठाकुर प्रसाद ढकालले बताउनुभयो । अध्ययन तथा अनुगमनपछि जे.सि.वी. लगेर खोला खोल्ने काम सुरु गर्ने निर्णय भएको उहाँले जनाउनुभयो । खोला थुनिएको ढिस्को कमजोर र गढ्न सक्ने भएकाले जेसिवीबाट काम गर्न कठिन भएपनि प्रयास गर्ने उहाँको भनाई छ ।

गत पुस १ गते खोला किनारको डाँडोमा पहिरो जाँदा खोला पुरिएको थियो । माडी नगरपालिका वडा नं. ७ र ८ को सिमानामा पर्ने परुई खोलाको सिरानमा २० मिटरभन्दा अग्लो पहिरो खसेको हो, जसका कारण अन्दाजी १० मिटरसम्म गहिरो तलाउ बनेको छ । खोला थुनिँदा तल्लो तटीय क्षेत्रमा खानेपानी र सिँचाइको समस्या भएको केहि स्थानीयवासीको भनाइ छ । तर केहिले भने तालको संरक्षण गर्न सके सिंचाई र खानेपानीको मुहानसंगै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने बिचार व्यक्त गरेका छन् भने केहि स्थानीयले सीता र हनुमानको किस्सासंग जोड्दै तलाउको नामाकरण समेत गरिसकेका छन् ।

SwadeshPost