माडीका स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन सुरू

393
SwadeshPost

१४ पुस, चितवन । माडीका स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ नामको खोप लगाउन थालिएको छ ।

माडीमा पहिलो खोप माडी नगरपालिकाका जनस्वास्थ्य संयोजक शिव सुवेदी र बघौंडा अस्पतालका निमित्त सुपरिटेन्डेण्ट डा. रञ्जु सिंहलाई लगाइएको हो । पहिलो चरणमा नगर जनस्वास्थ्य शाखा अन्तरगतका स्वास्थ्यकर्मीहरु डाक्टर, नर्स, ल्याबका कर्मचारी, सि.एम.ए., अ.न.मी., अ.हे.व., रेडियोग्राफर, एम्बुलेन्स चालक, सफाई कर्मचारी, कार्यालय सहयोगी र महिला स्वास्थ्य स्वयम्सेविकाहरु गरी १५० जना सुचिकृतलाई खोप लगाइएको छ ।

खोप लगाउने कार्यक्रमको सुरुवातमा माडीका नगर प्रमुख ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्य रहेको थियो । भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको १० लाख मात्राको खोपमध्ये १५० जनालाई पुग्ने खोप माडी ल्याइएको जनाइएको छ । सरकारले सम्पूर्ण नागरिकहरुलाई निःशुल्क खोपको व्यवस्था गर्ने जनाएको छ ।

SwadeshPost