‘पार्टीकै नेताहरुबाट अनुपयुक्त ढंगले सत्ता चलाउन खोजिएपछि संसद विघटन’ : प्रधानमन्त्री ओली

259
SwadeshPost

३ फागुन, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘पार्टीकै केही नेताहरुबाट अनुपयुक्त ढंगले सत्ता चलाउन खोजिएपछि वाध्यतावश’ प्रतिनिधीसभा विघटन गर्नुपरेको बताउनुभएको छ ।

आफू नेतृत्वको सरकार गठन भएको तीन वर्ष पुगेको अवसरमा सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदले आफूलाई असहयोग गरेको गुनासो गर्नुभयो । संसद् विघटन गर्नुअघि आफूले धेरैपल्ट सोचेको भन्दै उहाँले बैकल्पिक सरकारको सम्भावना नरहेपछि संसद् विघटन गर्नुपरेको बताउनुभएको हो ।

सरकारले ल्याएका विधेयकहरु छलफलको नाममा अड्काउने, संवैधानिक निकायहरुमा नियुक्ति सिफारिस हुनै नदिने र भए सुनुवाई समितिमा अड्काउने काम भएको भन्दै उहाँले पार्टी भित्रैबाट ‘अनुपयुक्त ढंगले समानान्तर सत्ता सञ्चालनको अभ्यास भएको’ जिकीर गर्नुभयो । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले पर्चा छापेर जिल्ला जिल्लामा पु¥याएको पनि उहाँको आरोप थियो ।

संसद विघटन नगरेको भए एकीकृत पार्टी पनि नहुने र कसैसँग बहुमत पनि नहुनुका साथै देशमा अस्थिरता आउने प्रधानमन्त्री ओलीको दाबी थियो । सम्बोधनका क्रममा उहाँले तीन बर्षको अवधीमा देशमा भएका विकास निर्माण र जारी परियोजना एवं कार्यक्रमहरुको लामो फेहरिस्त समेत सुनाउनुभएको थियो । त्यसअघि, उहाँले भूकम्पका कारण क्षतिग्रस्त भई प्रवलीकरण गरिएको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको उद्घाटन गर्नुभएको थियो ।

SwadeshPost