जेठ २१, माडी–३ वसन्तपुरस्थित बघौडा उपभोक्ता समितिको आयोजनामा पर्यटन प्रवर्द्धन कार्यक्रम अन्तर्गत दुई दिने होमस्टे व्यवस्थापन तालिम सम्पन्न भएको छ।
जेठ २० गतेदेखि २१ गतेसम्म सञ्चालन भएको तालिममा १८ जनाको सहभागिता रहेको थियो। वसन्तपुरको जकसन क्याफेमा आयोजित तालिममा होमस्टे सञ्चालन, पाहुना सत्कार, सरसफाइ, स्थानीय परिकारको प्रवर्द्धन तथा पर्यटन व्यवसायलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने विषयमा सहजीकरण गरिएको थियो।
कार्यक्रमले स्थानीय स्तरमा पर्यटन प्रवर्द्धन, आयआर्जनका अवसर वृद्धि तथा होमस्टे व्यवसायलाई व्यवस्थित र गुणस्तरीय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको आयोजक बघौडा उपभोक्ता समितिका अध्यक्ष बलराम महतोले बताउनु भयो । तालिममा प्रशिक्षकका रूपमा सरोज रोक्का रहनुभएको थियो ।




