२१ जेष्ठ, चितवन । माडीको मुख्य व्यवसायिक तथा प्रशासनिक केन्द्र बसन्तपुर बजारमा समस्याको रुपमा रहेको रोडसाइड पार्किङ क्रमशः व्यवस्थापन हुँदै गएको छ ।
बसन्तपुर बजार टोल विकास संस्था, स्थानीय युवा समूह एवं माडी–३ वडा कार्यालयसंगै माडीमा खटिएका ट्राफिक प्रहरी र इलाका प्रहरी कार्यालयको सामुहिक प्रयासमा बजार क्षेत्रमा सवारी साधनहरुको पार्किङ व्यवस्थापन सुधार हुँदै गएको देखिएको हो ।
हाल मुख्य बजार क्षेत्रमा एक साता सडकको एक छेउ र अर्को साता सडकको अर्को छेउमा मोटरसाइकल तथा सवारीसाधनहरुको पार्किङ गर्ने प्रणाली लागू रहेको छ । यसको कार्यान्वन पक्षमा जनपद प्रहरीहरुसंगै ट्राफिक प्रहरीका सहायक हवल्दार खडक बहादुर बिष्ट मुख्यरुपमा खटिएको देखिनुहुन्छ ।

बसन्तपुर बजारबाट सुरु भएको यसप्रकारको पार्किङ व्यवस्थापन माडीका अन्य बजार क्षेत्रमा पनि लागू गर्ने छलफल सुरु गरिएको बिष्टले बताउनुभयो । यसबाहेक नियमित र छड्के ट्राफिक चेकजाँच, विद्यालय र समुदायस्तरमा ट्राफिक सचेतना एवं ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारवाहीको क्रम समेत संगसंगै कडाइपूर्वक लागू गरिएको इप्रका माडीले जनाएको छ ।



