माडीको बाँदरझुलामा पहिलोपटक एक्स-रे सहितको स्वास्थ्य शिविर सञ्चालित

811
SwadeshPost

माडीको बाँदरझुलामा पहिलोपटक एक्स-रे सहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

माडी नगरपालिका जनस्वास्थ्य शाखाले पहिलोपटक उपमेयरसंग महिला स्वास्थ्य शिविर कार्यक्रम आयोजना गर्ने क्रममा माडी-९, बाँदरझुलामा भिडियो एक्स-रे सहितको बृहत स्वास्थ्य शिविर सञ्चालन गरको हो । बिजुलीको उपलब्धता नरहेको बाँदरझुलामा एक्स-रे मेसिन सञ्चालन गर्न पावर व्याकअप सहितको सोलार सिस्टम जडान गरिएको थियो ।

शिविरमा मौलाकालिका अस्पताल भरतपुरका बरिष्ठ कन्सल्टेन्ट डा. रामप्रसाद सापकोटा र बरिष्ठ रेडियोलोजिस्ट रमेश घिमिरेसंगै बघौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रञ्जु सिंह र स्टाफ नर्स दिलमाया गुरुङ सम्मिलित स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य जाँच गरेको थियो । शिविरमा कुल १६६ जना बिरामीहरुको स्वास्थ्य जाँच गरिएको माडीका जनस्वास्थ्य संयोजक शिव सुवेदीले जानकारी दिनुभयो ।

शिविरमा १५० जनाको भिडियो एक्सरे, ३० जनाको पाठेघरको मुखको क्यान्सरको जाँच, ७७ जनाको क्षयरोगको स्लाइड संकलन, ५२ जनाको एच.आई.भी. परीक्षण, ५ जनाको गर्भवती परीक्षण, १० जनाको सुगर परीक्षण र आँङ खसेका ४ जनाको उपचारका साथै नि:शुल्क औषधी वितरण समेत गरिएको थियो । माडी ९ का वडाध्यक्ष शिवहरि सुवेदीको अध्यक्षतामा सम्पन्न सो शिविरमा नगर उप-प्रमुख ताराकुमारी काजी महतोको प्रमुख आतिथ्य रहेको थियो ।

SwadeshPost