

माडी, चितवन । पूर्वी चितवनस्थित रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रल्हाद सापकोटाले ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकहरु स्मार्ट, जाँगरिलो र कर्तव्य परायण हुनुपर्ने’ औंल्याउनुभएको छ ।

रत्ननगर नगरपालिकाको आयोजनामा माडीको बघौंडास्थित माडी भिलेज रिसोर्टमा सञ्चालित शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरोकारवालासंग अन्तर्क्रिया तथा अन्तरसम्वाद कार्यक्रममा बोल्दै मेयर सापकोटाले सो कुरा औंल्याउनुभएको हो ।

उहाँले ‘सामुदायिक विद्यालयका शिक्षकहरु सक्षम भएकै कारण शिक्षा आयोगबाट नियुक्त हुने भएपनि अल्छी भएर बस्ने र काम कर्तव्य पुरा नगर्ने भएर विद्यालयको गुणस्तर खस्केको’ बताउनुभयो । ‘विद्यालय सुधार्न बजेटको नभई इच्छाशक्ति र जाँगरको अभाव रहेको’ उहाँको भनाई थियो ।

शुक्रबारसम्म सञ्चालन हुने कार्यक्रममा रत्ननगर नगरपालिकाका जनप्रतिनिधि, शिक्षाा समिति, सामुदायिक विद्यालयहरुका व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, प्रध्यानाध्यापक लगायतको आवासीय सहभागिता रहेको छ ।
सहभागीहरुबिच शिक्षाविद्हरु प्रा.डा. विद्यानाथ कोइराला, आचार्य महेन्द्र भट्टराई, शिक्षा निर्देशक महेन्द्र पौडेल र नगर शिक्षा अधिकारी नारायण प्रसाद वाग्लेले शैक्षिक सुधार सम्बन्धी प्रशिक्षण सञ्चालन गर्नुभएको थियो । रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले स्वागत गर्नुभएको सो कार्यक्रमको सहजिकरण शिक्षा शाखा अधिकृत सुमन सिलवाल (सामना)ले गर्नुभएको थियो ।