

माडी, चितवन । गैंडाको आक्रमणमा परी माडीको गोपालनगरमा एक महिलाको मृत्यु भएको छ ।

आइतबार दिउँसो करीब २ बजेको समयमा स्थानीय गोपालनगर सामुदायिक वनभित्र बाख्रालाई घाँस काट्न जानुभएका माडी नगरपालिका-७, कीर्तनपुर निवासी ५५ बर्षीया शान्ति नेपालीलाई गैंडाले आक्रमण गरेको थियो ।

नेपालीलाई उपचारका लागि बघौंडा अस्पताल ल्याइएकोमा दिउँसो ४:३० बजेको समयमा चिकित्सकले नेपालीलाई मृत घोषणा गरेका थिए । उहाँको टाउकोको भागमा गम्भीर चोट लागेको र शरीरका अन्य भागहरुमा समेत चोट देखिएको हो ।

पछिल्लो समय माडी क्षेत्रमा गैंडाको आक्रमणबाट हताहती वा घाइते हुने क्रम निकै बढेको छ । यसअघि गत माघ १९ गते माडी-१ ध्रुबमा भुतही महतोको मृत्यु भएको थियो भने माघ १ गते माडी-३ का छबिलाल बोट र माघ ७ गते माडी-७ का शिवराज भण्डारीको मृत्यु भएको थियो । गैंडाको आक्रमणबाट मृत्यु एवं घाइते हुने घटनाहरू श्रृंखलाबद्ध रूपमा बढ्दै जाँदा स्थानीयबासीहरुमा त्रासको अवस्था रहने गरेको छ ।