

माडी, चितवन । माडीको बसन्तपुरमा फागुन २२ देखि चैत २ गतेसम्म सञ्चालन हुने दोश्रो माडी साँस्कृतिक तथा पर्यटन उत्सव-२०८१ को प्रचारप्रसार सुरु भएको छ । मेलाको प्रचारको अडियो, भिडियो र पोस्टर सामग्रीहरु तयार भई प्रकाशन प्रशारण, पोष्टिङ र पेष्टिङ कार्य अगाडि बढेको हो ।

बसन्तपुर बजारस्थित चौरको स्तरिकरणका उद्देश्यले माडी कला केन्द्रको मुख्य आयोजना र द लिड इन्टरटेनमेन्ट एण्ड एड्भरटाइजिङको व्यवस्थापनमा सो मेला सञ्चालन हुन लागेको हो । हाल मेलास्थलमा घेराबार, स्टल र स्टेज निर्माण कार्य अगाडि बढेको छ ।

मेला आयोजक पक्षले कलाकारहरुको प्रस्तुति तालिका समेत सार्वजनिक गरेको छ । जसअनुसार फागुन २२ गते जनगायक जीवन शर्मा, २३ गते लोकदोहोरी गायक श्याम राना, २४ गते र्यापर मिस्टर डी, २५ गते लोकदोहोरी गायिका ज्योति मगर तथा फागुन २६ गते गायक हेमन्त शर्मा, रवि रिमाल र प्रमोद जख्मीको प्रस्तुति रहनेछ ।

त्यस्तै फागुन २७ गते गायिका अनु चौधरी, २८ गते गायक प्रकाश दुतराज, २९ गते (पहाडमा होलीका दिन) भोजपुरी डान्सर प्रिती पासवान, चैत १ गते (तराईमा होलीका दिन) नायक पल शाह र चैत २ गते शनिवार गायक खेम सेन्चुरीको प्रस्तुति रहने कार्यतालिका रहेको छ ।