

माडी, चितवन । माडीको खैरहनी गाउँमा डम्पिङ गरेको खानेपानी पाइपमा आगलागी हुँदा करीब ७ लाख रुपैंयाको क्षती भएको छ । माडी-४, खैरहनी गाउँमा विगत डेढ बर्षदेखि भण्डार (स्टोर) गरी राखिएको डेढ ईञ्च, २ ईन्च र ८ ईञ्च मोटाइका प्लास्टिकका रोल पाइपमा आगलागी हँदा सो क्षती भएको हो ।

आगलागी भएका पाइपहरु संघीय सरकारको सहयोगमा माडीको वडा नं. ४ र वडा नं. २ क्षेत्रभर खानेपानी विस्तारका निम्ति सञ्चालित माडी नगरपालिका खानेपानी आयोजनाका रहेका हुन् ।

आगलागी भएसंगै माडी नगरपालिकाको दकमल र स्थानीयबासीहरुको सामुहिक प्रयासमा आगो नियन्त्रणमा आएको थियो । दमकल र स्थानीयको प्रयासमा आगलागी फैलनबाट जोगिएको थियो भने भण्डारमा रहेका आगो सल्कन नपाएका केहि पाइपहरु पनि जोगिएका थिए ।

आगलागीको यथार्थ कारण थाहा हुन नसकेपछि शिवरात्रीको साँझ गाँजा वा अन्य लागुपदार्थ सेवन गरेकाहरुको उपद्रव कार्य हुनसक्ने स्थानीयको आशंका छ । माडीमा यसअघि बरुवास्थित गर्दी खानेपानीको पाइपमा समेत आगलागी भएको थियो ।