

माडी, चितवन । माडी नगरपालिका वडा नं. ७ वडाबासीले ‘वडा कार्यालयको भवन निर्माणस्थल सर्बपायक स्थानमा नरहेको’देखि ‘सतह सिंचाईको सट्टामा भूमिगत बोरिङ आतंक चलेको’ भन्दै सचेत गराएका छन् ।

माडी नगरपालिका वडा नं. ७ कार्यालयको चालू आर्थिक बर्षको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी रहँदै वडाबासीहरुले विकास निर्माण एवं अन्य सार्वजनिक महत्वका दर्जनौं सवालहरु उजागर गरेका हुन् । वडा कार्यालयको आयोजना एवं स्वदेश एफ.एम.को सहजिकरणमा सो सुनुवाई कार्यक्रम सञ्चालन भएको हो ।

कार्यक्रममा बोल्दै वडाबासी रमाकान्त सापकोटाले ‘वडा कार्यालयको भवन भूगोल र जनसंख्याको आधारमा अपायक स्थानमा निर्माण भइरहेको’ बताउँदै ‘माथिल्लो देबेन्द्रपुरमा खानेपानीको समस्या रहेको’ औंल्याउनुभयो । त्यस्तै युवराज ढकालले ‘जगन्नाथपुरी बाटोको मर्मत र ह्युमपाइप राख्न माग’ गर्नुभयो ।

कार्यक्रममा बोल्दै कृष्ण चन्द्र ढुंगानाले ‘खेल्ने स्थानको अभावमा बच्चाहरु हुलाकी सडकमै खेल्दा दुर्घटनाको जोखिम बढेको’ बताउनुभयो । यसका लागि ‘खेलकूद चौरको माग’ गर्दै उहाँले ‘देवीकोट सामुदायिक भवनमा झ्याल ढोका ग्रिल हालिदिन’ अनुरोध गर्नुभयो । त्यस्तै झनक प्रसाद अधिकारीले ‘दिवानगरमा सुख्खा धेरै भएकाले बोरिङ वा सिंचाईको व्यवस्था र सडक कालोपत्रेको माग’ गर्नुभयो ।
सार्वजनिक सुनुवाईमा प्रश्न गर्दै वडाबासी खेमलाल आचार्यले ‘वडा कार्यालयमा जे.टि.ए. राख्न र वडाको गौरवको योजनाका रुपमा शीत भण्डार निर्माण गर्न’ अनुरोध गर्नुभयो । कार्यक्रममा वंशराज मर्दनीया, मीन बहादुर घिमिरे र श्रीराम गौतमले टोल विकास संस्थालाई साधन श्रोतसम्पन्न बनाउन माग गर्दै टोलको विकासमा ध्यान दिन अनुरोध गर्नुभयो ।
कार्यक्रममा राजनैतिक दलका प्रतिनिधिहरुले भूमिगत पानीको सट्टा सतही सिंचाईमा ध्यान दिनुपर्ने, युवा दुर्व्यसनी नियन्त्रण एवं खेलकूदमा बजेट बढाउनुपर्ने, बसाईंसराईंको समस्या बढेकोतर्फ ध्यान दिनुपर्ने तथा आयआर्जन र जीविकोपार्जनका योजनाहरुलाई प्राथमिकता दिनुपर्ने लगायतका सुझाव प्रस्तुत गरेका थिए ।
वडाध्यक्ष चन्द्रकुमारी बानियाँको अध्यक्षतामा सम्पन्न सो सुनुवाईमा वडा सदस्य ढाकामोहन तिमिल्सिनाले स्वागत तथा स्वदेशकर्मी देवनारायण शाहले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा वडाका राजनैतिक दल, सामाजिक संघसंस्था एवं अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।