चितवन खबर पोष्ट

११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा माडीमा अन्तरक्रिया कार्यक्रम सञ्चालित

२३ फागुन, माडी । ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा माडीमा अगुवा कृषक एवं महिला उद्यमीहरुबिच अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको छ ।

महिला उद्यमी संघ नेपाल चितवनको आयोजना तथा माडी नगरपालिका कृषि शाखाको समन्वयमा सम्पन्न सो कार्यक्रममा अगुवा एवं व्यवसायिक कृषक तथा महिला कृषि उद्यमीहरुबिच अन्तरसंवाद भएको हो ।

कार्यक्रममा बोल्दै एग्रो नाइन कम्पनीका कृषि विज्ञ टुकनारायण पौडेल र माडी प्राङ्गारिक कृषि फर्म तथा अनुसन्धान केन्द्रका बैज्ञानिक डा. भानेश्वर पोखरेलले कृषिलाई उद्यमका रुपमा विकास गर्न सकिने सम्भावनाहरु प्रस्तुत गर्दै त्यसतर्फ अग्रसर हुन सबैमा अनुरोध गर्नुभयो ।

त्यस्तै महिला उद्यमी महासंघ नेपालका बोर्ड सदस्य एवं बागमती प्रदेश प्रतिनिधि अर्पणा प्रधान भण्डारीले महिलाहरुद्वारा सञ्चालित उद्यम एवं पेशाजन्य उपलब्धी, समस्या र चुनौतीहरुबारे जानकारी गराउनुभयो ।

माडी नगरप्रमुख ताराकुमारी काजी महतोको प्रमुख अतिथ्यमा सञ्चालित सो कार्यक्रममा अध्यक्षता समेत गर्नुभएका महिला उद्यमी संघ चितवनका अध्यक्ष श्वेता उपाध्यायले प्राकृतिक रूपमा आकर्षक र रमणीय रहेकाको माडी क्षेत्रमा बोटनिकल गार्डेन निर्माण गर्न सुझाव दिनुभयो ।

महिला उद्यमी संघ नेपाल चितवनले माडीको बसन्तपुरमा सञ्चालित दोश्रो माडी साँस्कृतिक तथा पर्यटन मेलामा १५ वटा स्टल राखी सोमार्फत स्थानीय महिला उद्यमीहरुको विभिन्न उत्पादनहरुको प्रदर्शन र प्रवर्द्धन समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार