

माडी, चितवन । माडी नगरपालिकाको आर्थिक बर्ष २०७८/७९ को आर्थिक वर्षको अन्त्यमा १७ करोड १४ लाख ६८ हजार रुपैयाँ बैंक मौज्दात रहेको देखिएनि भदौ अन्तिम साता संघीय र प्रदेश सरकारलाई रकम फिर्ता भएको नगरपालिकाले जनाएको छ ।
माडी नगरपालिकाद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सो आ.व.को बजेटबारे जानकारी दिँदै नगरका लेखाशाखा प्रमुख हरिशरण सोतीले २०७९ भदौ २७ गते सो रकममध्ये संघीय सरकारलाई करीब ४ करोड ६१ लाख र प्रदेश सरकारलाई २ करोड ९४ लाख फिर्ता गरेको जानकारी दिनुभएको हो ।

यसैगरी सोही रकमभित्रै नगरको कर दाखिला र भुक्तान बाँकी रकम समेत रहेकाले खुद बचत ५ करोड ७२ लाख ९२ हजार १० रुपैंया मात्रै रहेको उहाँले जानकारी दिनुभयो ।

आ.व. २०७८/७९को समयतिर आर्थिक बर्षको अन्तिम दिनसम्मै खाता सञ्चालन हुने व्यवस्था रहेकोले नगरको किताबमा १७ करोड १४ लाख बचत देखिएको लेखाप्रमुख सोतीले जनाउनुभयो । यद्यपि यसबारे थप अध्ययन भइरहेको जनाउँदै उहाँले यसको पूर्ण विवरण केहि दिनभित्रै सार्वजनिक गरिने उहाँको भनाई थियो ।
यसअघि, माडीका पुर्व नगर प्रमुख ठाकुर प्रसाद ढकाल (हाल बागमती प्रदेश सांसद) ले आफ्नो कार्यकालको अन्त्यमा बैंक मौज्दात १७ करोड १४ लाख ६८ हजार २२६.३३ रुपैयाँ राखिछाडेपनि आफूलाई ऋण लगाएर छोडेको आरोप लगाइएको टिप्पणी गर्नुभएको थियो ।
सांसद ढकालले दावी गरेजति (वास्वतिक) रकम खातामा दाखिला नछाडिएपनि पालिकालाई ऋण लगाएर छाडेको आरोप पुष्टी हुने भने देखिएन । यस सम्बन्धमा माडीका सर्वसाधारण भने प्रदेश सांसद र माडी नगरपालिकाले सो विवाद अन्त्य गरी सहकार्य र समन्वय गर्दै पालिकाको विकासमा एकाकार हुनुपर्ने सुझाव राख्ने गरेका छन् ।