६ चैत्र, माडी । माडी जेसीजको वर्ष २०२६ का अध्यक्ष प्रकाश सुवेदी र उहाँ नेतृत्वको नयाँ कार्यसमितिको पदस्थापन भएको छ । बिहीबार माडी भिलेज रिसोर्टको सभाहलमा आयोजित छैटौँ पदस्थापन तथा पद हस्तान्तरण कार्यक्रममार्फत नयाँ नेतृत्वले औपचारिक रूपमा कार्यभार सम्हालेको हो ।
अध्यक्ष पदको जिम्मेवारी ग्रहण गर्दै सुवेदीले आफूलाई दिइएको विश्वासप्रति कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले आफूलाई चयन गर्ने सम्पूर्ण सदस्य, अग्रज तथा शुभेच्छुकप्रति धन्यवाद दिँदै जेसीज अभियानमा यहाँसम्म आइपुग्न सबैको साथ, सहयोग र मार्गदर्शन महत्वपूर्ण रहेको बताउनुभयो ।
सुवेदीले निवर्तमान अध्यक्ष जेसी ईश्वर रानाभाट तथा वर्ष २०२५ को सम्पूर्ण कार्यसमितिले गरेको योगदानको उच्च प्रशंसा गर्दै उनीहरूले बनाएको सशक्त आधारलाई अझ मजबुत बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, संस्थाको समग्र विकासका लागि सबैको निरन्तर साथ, सुझाव र सहयोग आवश्यक रहने पनि उल्लेख गर्नुभयो ।

माडी नगरप्रमुख ताराकुमारी काजी महतोको प्रमुख आतिथ्यमा सञ्चालित सो कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य बाबुराम सुवेदी एवं माडीका वडाध्यक्षहरु र जेसिज अभियानमा जोडिएका युवा अगुवाहरुको आतिथ्य र माडी जेसिजका पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहेको थियो ।



