चितवन खबर पोष्ट

रामनवमी चैतेदशैं गोद्धक मेलाको अवसरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ-२०८२ समेत सञ्चालन हुने

६ चैत्र, माडी । रामनवमी चैतेदशैं गोद्धक मेलाको अवसर पारी माडी-१, गोद्धक मन्दिर परिसरमा “वृहत् श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ संगितमय धार्मिक महोत्सव-२०८२” समेत सञ्चालन हुने भएको छ ।

गोद्धक क्षेत्रको धार्मिक तथा पर्यटन विकास एवं गोद्धकधाम धार्मिक अक्षयकोष स्थापनाका उद्देश्यले गोद्धकधाम व्यवस्थापन समितिको आयोजनामा मेलासंगै श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ समेत आयोजना गरिएको समितिका अध्यक्ष तुल्सिङ गुरुङले बताउनुभयो ।

महायज्ञको समुद्घाटन भव्य कलश यात्रासहित चैत ७ गते बिहान आयोजना गरिने र १४ गतेसम्म महायज्ञ सञ्चालन हुने उहाँले जनाउनुभयो । महोत्सवमा प्रख्यात कथावाचक पण्डित कपिलदेव भट्टले श्रीमद्भागवत कथा वाचन गर्नुहुनेछ ।

सो धार्मिक महोत्सव अवधिभर दैनिक रूपमा पाठ-पारायण, मण्डप पूजा, हवन, भजन-कीर्तन, नाटक लगायतका विविध धार्मिक तथा सांगीतिक कार्यक्रमहरू सञ्चालन गरिने १००८ भागवत संकल्पकर्ता श्याम सुन्दर आचार्यले बताउनुभयो ।

गोद्धक क्षेत्रमा सो महायज्ञका लागि पण्डाल निर्माण कार्य तीब्ररुपमा जारी रहेको छ । आयोजकले सम्पूर्ण श्रद्धालु भक्तजनलाई तन, मन, धन तथा वचनले सहभागिता जनाई सो धार्मिक महोत्सवलाई सफल बनाउन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

ताजा समाचार