चितवन, माडी — माडी नगरपालिका-६, स्याउलीबास गाउँ निवासी राज गुरुङले आफ्नो घरमा हतियारसहित आक्रमण प्रयास भएको भन्दै शान्ति सुरक्षााका लागि इलाका प्रहरी कार्यालय माडीमा उजुरी दिएका छन् ।
गुरुङले दिएको जानकारी अनुसार, यही कार्तिक ४ गते तिहारको रात करिब ११ बजे सोही वडामा डेरा गरी बस्दै आएका अन्दाजी ४२ वर्षका, स्थायी ठेगाना देवघाट रहेका निर्माण व्यवसायी पृष्ठभूमिका विजय परियार नाम गरेका व्यक्तिले मापसे गरी चक्कु र दाउ जस्तो हतियार बोकी आक्रमण गर्न खोज्दा घरमा आतंक र सन्त्रास फैलिएको थियो ।

आक्रमण प्रयासपछि आरोपी परियार भागेर माडीमै लुकी बसेको भन्दै गुरुङले प्रहरीमा सुरक्षा माग गर्दै निवेदन दिएका छन् । उनले आफ्नो तथा परिवारको जिउधनको सुरक्षा र गाउँमा शान्ति-सुरक्षाको सुनिश्चितता गर्न प्रहरीलाई अनुरोध गरेका छन् ।

इलाका प्रहरी कार्यालय माडीका स्रोतका अनुसार, निवेदन प्राप्त भएपछि घटनाबारे प्रारम्भिक अनुसन्धान थालिएको छ र आरोपितको खोजी कार्य अघि बढाइएको छ । (फोटो: घटनामा प्रयोग भएको घरेलु हतियार र इन्सेटमा आरोपी परियार)

