चितवन, माडी — नेपालीहरूको महान पर्व तिहारको अवधीभर चितवनका विभिन्न स्थानमा जुवा खेलेका २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूमाथि मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरी निरीक्षक दीपक रिजालका अनुसार भरतपुर र खैरहनी क्षेत्रबाट पक्राउ परेकाबाट नगद रु ३ लाख ६१ हजार २१० बरामद भएको हो । प्रहरी निरीक्षक रिजालका अनुसार उनीहरूलाई मुलुकी अपराध संहिता दफा १२५ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ।

यसैबीच, तिहार सुरु भएसँगै चितवनमा सवारी दुर्घटनामा पनि वृद्धि भएको छ । कात्तिक १ देखि ७ गतेसम्म जिल्लाका विभिन्न स्थानमा ६९ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ७ जनाले ज्यान गुमाएका छन् भने एक सय ४१ जना घाइते भएका छन् । मादक पदार्थ सेवन गरी रातको समयमा तीव्र गतिमा सवारी सञ्चालन गर्दा दुर्घटना बढेको प्रहरीले जनाएको छ ।


