चितवन खबर पोष्ट

माओवादी केन्द्रका नेता प्रकाशले माडीमा गर्नुभएको भेटघाटप्रति सो पार्टीभित्रैबाट टिकाटिप्पणी

तिहारको सन्दर्भ पारी पारिवारिक भेटघाटका लागि माडी आउँदा नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य नारायणकाजी श्रेष्ठ प्रकाशले गर्नुभएको भेटघाटप्रति सो पार्टीभित्रै टिकाटिप्पणी देखिएको छ ।

पार्टीका पूर्व उपाध्यक्ष साथै सरकारका पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता प्रकाशले पार्टीका सबै नेता कार्यकर्ताहरुलाई सामुहिक भेट प्रशिक्षण गर्नुपर्नेमा आफू निकटका नेता कार्यकर्ताहरुसंग मात्रै भेट सम्वाद गरेको भन्दै ‘इतर पक्ष’ले टिकाटिप्पणी गरेको देखिएको हो ।

यस सन्दर्भमा माओवादी नेता ठाकुर ढकाल (दम्पत्ती)ले सामाजिक सञ्जालमा एक भिडियो वार्तालाप प्रकाशित गर्दै ‘नगर अध्यक्ष र ईञ्चार्जसंग कुनै समन्वय नगरिएको दाबी गर्दै’ कटाक्ष गर्नुभएको छ । लगत्तै अर्को एक स्टाटस लेख्दै प्रदेश सांसद समेत रहनुभएका नेता ढकालले ‘पार्टीलाई सुदृढ र एकताबद्ध गर्न गुटगत मानसिकताबाट माथि उठ्नुपर्ने’ उल्लेख गर्नुभएको छ ।

त्यस्तै, माओवादी केन्द्रका माडी नगर ईञ्चार्ज गिरिधारी सुवेदीले व्यङ्ग्यात्मक रुपमा ‘दलिनतिर नाँच्ने मुसोलाई पहिले मतलब नगरिएको तर अब कपडा काट्न थालेकाले औषधि गर्नु पर्ने भयो’ भनी पोष्ट गर्नुभएको छ । माओवादी केन्द्र माडीभित्रको सो विवाद ‘बेकार र प्रत्युत्पादक रहेको’ नगर अध्यक्ष भरत तिमिल्सिनाको भनाई छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार