१५ कार्तिक, माडी । माडी-४, खैरहनीस्थित चक्रशीला खेल मैदानमा सञ्चालित तेस्रो बुद्धज्योति नाइन ए साइड फुटबल प्रतियोगिताको उपाधी आयोजक बुद्धज्योति युवा क्लबले जितेको छ ।
शनिवार दिउँसो सञ्चालित फाइनल स्पर्धामा बैकुण्ठ युथ क्लब, माडी-८ लाई १-० ले पराजित गर्दैै बुद्धज्योतिले उपाधी उचालेको हो । सुरुवातदेखि नै ०-० को बराबरीमा रहेको फाइनल स्पर्धाको अन्तिम समयमा बुद्धज्योतिका लागि अनिश तामाङले विजयी गोल गर्नुभएको हो । फाइनल खेलको म्यान अफ द म्याच अनिश तामाङ घोषित हुनुभयो ।

समग्र प्रतियोगिताको बेष्ट गोलकिपर बुद्धज्योतिका हर्क बहादुर मगर, बेष्ट डिफेन्स बुद्धज्योतिकै शिशिर नेपाली र सर्बोत्कृष्ट खेलाडी बुद्धज्योति क्लबका संज महतो घोषित हुनुभयो ।

त्यस्तै, बेष्ट मिडफिल्ड बैकुण्ठ युवा क्लब, माडी-८ का अमन बि.क. र नवप्रतिभाशाली खेलाडी बैकुण्ठकै दिपेश गायक घोषित हुनुभयो । सर्बाधिक गोलकर्ताका रुपमा अयुब रुचाललाई पुरस्कृत गरिएको थियो ।
क्बलका अध्यक्ष युवराज सुवेदीको अध्यक्षतामा सञ्चालित फाइनल खेलको प्रमुख अतिथि माडी नगरप्रमुख ताराकुमारी काजी महतो रहनुभएको थियो । हरिबोधनी एकादशी मेलाको सन्दर्भमा सञ्चालित सो खेलको फाइनलमा उल्लेख्य दर्शकहरुको सहभागिता रहेको थियो ।

