चितवन खबर पोष्ट

बजेट अभावका कारण गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडा गणना यस वर्ष आनुवंशिक विधिबाट हुने

२६ कार्तिक, माडी । बजेट अभावका कारण गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडा गणना यस वर्ष आनुवंशिक (जेनेटिक) विधिबाट हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ गणनापछि यो विधिबाट गैँडा गणना गर्ने तयारी गरेको हो ।

विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार यस विधिबाट गैँडाको गोबर सङ्कलन गरी प्रयोगशालामा डिएनए परीक्षणमार्फत सङ्ख्या र लिङ्ग पहिचान गरिनेछ। यो विधि वैज्ञानिक, कम खर्चिलो र सुरक्षित हुने उहाँको भनाइ छ ।

विगतमा ब्लक छुट्याएर प्रत्यक्ष अवलोकनबाट गणना गर्दा करिब तीन करोड रुपैयाँ खर्च भएको थियो । आनुवंशिक विधिले दीर्घकालीन अभिलेख तयार गर्न सहयोग पुर्‍याउने बताइएको छ । यस वर्ष पुसदेखि बाघ गणना सुरु गरी त्यसपछि चैतमा गैँडा गणना गरिनेछ । चितवन, पर्सा, शुक्लाफाँटा र कोशी टप्पु राष्ट्रिय निकुञ्जमा गैँडा गणना हुने छ ।

सन् २०२१ मा गरिएको गणनामा नेपालभर ७५२ वटा गैँडा फेला परेका थिए । त्यसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ तथा बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ र शुक्लाफाँटमा १८ वटा गैंडा रहेको उल्लेख छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार