०८ पाैष, माडी । तमु (गुरुङ) समुदायको महान पर्व तमु ल्होसारको अवसर पारी ध्रुवतारा युवा क्लब, माडी-६, रामराज्यपुरले सेभेन ए साइड खुल्ला फुबटलका साथै वडास्तरीय भेट्रान भलिबल र फुटबल प्रतियोगिता आयोजना गरेको छ ।
पर्वको अवसर पारी पौष १० देखि १६ गतेसम्म, माडीको गुरुङ बाहुल्य गाउँका रुपमा परिचित रामराज्यपुर टोलस्थित खेल मैदानमा सञ्चालन हुनेगरी ‘चौथो ल्होसार कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता-२०८२’ आयोजना गरिएको क्लबका अगुवा शंकर घलेले बताउनुभयो ।

खुल्ला फुटबल खेलको विजेता र उपविजेतालाई पुरस्कार रकम क्रमशः ३५ हजार र २० हजारका साथै शिल्ड, मेडल र प्रमाणपत्र दिइने र विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कृत गरिने उहाँले जानकारी दिनुभयो ।

यसबाहेक वडास्तरीय भेट्रान भलिबलको विजेता र उपविजेतालाई क्रमशः एकवटा खसी र दुईवटा हाँस पुरस्कार रहेको क्लबका अर्का अगुवा काता गुरुङले बताउनुभयो । भेट्रान फुटबलका लागि समेत मौलिक र आकर्षक पुरस्कारको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
यस वर्ष तमु समुदायले सप्ह्री ल्हो (सर्प वर्ग)को बिदाइ र त ल्हो (घोडा वर्ग)को स्वागत गरी पौष १५ गते ल्होसार मनाउँदैछन् । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । तमु ल्होसारका अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।

