०८ माघ, माडी । खेलकुदको क्षेत्रमा नवयुवा उमेरमै तीनभन्दा बढी राष्ट्रियस्तरका पदक जित्न सफल माडी नगरपालिका-६, कल्याणपुर, चितवनका एथलेटिक्स खेलाडी ललित राउतलाई नगदसहित सम्मान गरिएको छ।
२७औँ माडी गोल्डकप अन्डर–१८ राष्ट्रिय फुटबल प्रतियोगिता-२०८२ को अवसर पारेर आयोजक बसन्तपुर युनाइटेड क्लबले राउतलाई कदरपत्र र दोसल्लासहित सम्मान गरेको हो।

राउतले प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद-२०८० मा सर्टपुटतर्फ स्वर्णपदक, नवौँ राष्ट्रिय खेलकुदमा बागमती प्रदेशको तर्फबाट सहभागिता जनाउँदै कास्यपदक तथा युथ एथलेटिक्स प्रतियोगिता-२०२१ मा स्वर्णपदकसहित विभिन्न राष्ट्रियस्तरका पदक हासिल गर्नुभएको छ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य ठाकुरप्रसाद ढकालले खेलाडी राउतलाई दोसल्ला ओढाई कदरपत्र प्रदान गर्नुभएको थियो। राउत हाल कल्याणपुर युथ क्लब गठन गरी माडी क्षेत्रको खेलकुद विकासमा सक्रिय रूपमा योगदान दिँदै आउनुभएको छ।

