खेल र खेलाडी पोष्ट

जिल्लास्तरमा पदकहरू जित्न सफल माडीका एथलेटिक्स खेलाडी अनिशा महतो नगदसहित सम्मानित

०८ माघ, माडी । खेलकुदको क्षेत्रमा विद्यार्थी उमेरमै तीनवटा जिल्लास्तरीय पदक जित्न सफल माडी नगरपालिका-१, अम्बाबास, चितवनकी उदीयमान एथलेटिक्स खेलाडी अनिशा महतोलाई नगदसहित सम्मान गरिएको छ।

२७औँ माडी गोल्डकप अन्डर-१८ राष्ट्रिय फुटबल प्रतियोगिता-२०८२ को अवसर पारेर आयोजक बसन्तपुर युनाइटेड क्लबले सोमेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा समेत रहेकी महतोलाई कदरपत्र र दोसल्लासहित सम्मान गरेको हो।

महतोले माडी नगरस्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तीनवटा स्वर्णपदक, तेस्रो माडी भलिबल महोत्सव-२०८१ मा सर्वोत्कृष्ट खेलाडीको उपाधि तथा खेलकुद तथा बृहत् व्यापार महोत्सव-२०८२ मा महिला सर्टपुटतर्फ स्वर्णपदक हासिल गर्नुभएको छ। यससँगै उहाँले माडी नगर र चितवन जिल्लास्तरमा विभिन्न पदकहरू जित्न सफल हुनुभएको छ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य ठाकुर ढकालले खेलाडी महतोलाई दोसल्ला ओढाई कदरपत्र प्रदान गर्नुभएको थियो। बसन्तपुर युनाइटेड क्लबका अध्यक्ष नबिन बस्यालको अध्यक्षतामा सम्पन्न उक्त सम्मान कार्यक्रममा अर्का खेलाडी ललित राउतलाई समेत सम्मान गरिएको थियो।

तपाईको प्रतिक्रिया