खेल र खेलाडी पोष्ट

राष्ट्रिय फुटबल टिमका खेलाडी विवेक गुरुङ ‘दिवाकर भुसाल बर्ष खेलाडी पुरस्कार-२०८२’बाट सम्मानित

११ माघ, माडी । माडीबाटै खेल जीवन सुरु गरी हाल नेपालको अण्डर-२३ राष्ट्रिय फुटबल टिमका लागि खेल्ने खेलाडी विवेक गुरुङ ‘दिवाकर भुसाल बर्ष खेलाडी पुरस्कार-२०८२’बाट सम्मानित हुनुभएको छ ।

खेलाडी गुरुङलाई २७औं माडी गोल्डकप अण्डर–१८ राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलका अवसरमा बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकाल, माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसाल, वडाध्यक्ष पुरन महतो र चन्द्रकुमारी बानियाँ, दिवाकर भुसाल स्मृति प्रतिष्ठानका अध्यक्ष जनकराज भुसाल लगायतले शनिवार नगद २५ हजार ५ सय २५ रुपैंया सहित कदर-पत्र र दोसल्ला ओढाई सम्मान गर्नुभएको हो ।

माडी नगरपालिका-३, बसन्तपुर बजार निवासी गुरुङले बसन्तपुर युनाइटेड क्लबबाट खेल जीवन सुरु गरी हाल नेपालको २३ बर्षमुनी उमेर समूहको राष्ट्रिय टीममा सहभागी भई नेपालका लागि खेल्नुहुन्छ । यसका साथै उहाँ ए डिभिजनको एन.आर.टि. (न्यूरोड टिम) काठमाडौंका लागि व्यवसायिक फुटबल समेत खेल्नुहुन्छ ।

माडीका सामाजिक एवं बामपन्थी नेता दिवंगत दिवाकर भुसालको समृतिमा भुसाल परिवारले हरेक बर्ष नगद सहित दिवाकर भुसाल बर्ष खेलाडी पुरस्कार सौजन्य गर्दै आएको छ भने माडी गोल्डकप फुटबलका अवसरमा सो पुरस्कार प्रदान हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया