चितवन निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि-सभा उम्मेदवार नेपाली कम्युनिष्ट पार्टीकी नेतृ रेनु दाहालले ‘समय अनुकूल कानूनहरू संशोधन गर्दै जनताको पक्षमा नीति निर्माणमा इमानदारीका साथ लाग्ने’ प्रतिबद्धता जनाउनुभएको छ।
सोमबार माडीको बसन्तपुरमा स्वदेश एफ.एम.संग जम्काभेट कार्यक्रममा बोल्दै दाहालले निकुञ्ज ऐन, वन ऐन तथा भूमिहीनहरूको हकहितका लागि भूमि ऐनलगायत विभिन्न कानून संशोधनको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

दाहालले संविधान जारी भइसके पनि जनताको आवश्यकताअनुसार धेरै कानून अझै बनाउन बाँकी रहेको बताउनुभयो। जनपक्षीय ढंगले, जनताको हित र स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर कानून निर्माण गर्न आफू इमानदारीपूर्वक लाग्ने उहाँको प्रतिबद्धता थियो।

कार्यक्रममा बोल्दै दाहालले ‘काम गर्नेलाई मूल्याङ्कन हुनुपर्ने र अवमूल्यन गर्न नहुने’ पनि बताउनुभएको छ । ‘आफूहरूको इमान्दारितामाथि प्रश्न उठाउने र गरिएका कामलाई होच्याउने प्रवृत्ति देखिएको भन्दै स्वच्छ प्रतिस्पर्धा गर्न र कामको आधारमा जनताको मन जित्नुपर्ने’मा उहाँले जोड दिनुभयो।
आफूले कहिल्यै व्यक्तिगत स्वार्थमा काम नगरेको भन्दै उहाँले ‘उहाँले आफ्नो कार्यक्षेत्रमा कसले के काम गर्यो वा गरेन भन्ने विषयमा निष्पक्ष मूल्याङ्कन हुनुपर्ने’मा पनि जोड दिनुभयो ।
काम गर्नेलाई र नगर्नेलाई एउटै तराजुमा हाल्नु नहुने उल्लेख गर्दै, जसले काम गरेको छ त्यसको उचित कदर हुनुपर्ने र अवमूल्यन हुन नहुने उहाँको अभिव्यक्ति थियो । माडीको निकाशका लागि कानुन शंसोधन र नयाँ कानुन निर्माणसंगै यहाँको भौतिक विकास पनि एकैसाथ अगाडि लैजाने उहाँको भनाई थियो ।
त्यस्तै, दलगत आग्रह–पूर्वाग्रह नराखी साझा प्रतिनिधिका रूपमा आफूले काम गरेकाले जनताले पनि दलगत आवद्धताभन्दा माथि उठेर आफूलाई मतदान गर्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ । विगतमा पनि कांग्रेस, एमाले, राप्रपा लगायत विभिन्न राजनीतिक दलसँग आबद्ध भए पनि विकासप्रेमी जनसमुदायले आफूलाई मतदान गरेको उहाँले उल्लेख गर्नुभयो ।
चितवन क्षेत्र नं. ३ का मतदाताले विकास, काम र इमानदार नेतृत्व चाहेको उल्लेख गर्दै भ्रम, ठगी र छलबाट राजनीति गर्ने प्रवृत्तिलाई जनताले अस्वीकार गर्ने बताउनुभयो । “जनतालाई ढाँट्ने, छल्ने र आफ्नै स्वार्थमा अगाडि बढ्ने जनप्रतिनिधि चितवन क्षेत्र नं. ३ ले खोजेको छैन,” दाहालले जोड दिनुभयो ।

