१५ माघ, माडी । माडी नगरपालिका-५ स्थित दिवाकर स्मृति माध्यमिक विद्यालयले ५४औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा वर्ष अभिभावकका रुपमा झलक महतो र वर्ष विद्यार्थीका रुपमा खुसी खड्कालाई सम्मान गरेको छ ।
त्यसैगरी एस.ई.ई. परीक्षामा सत्प्रतिशत नतिजा ल्याउन सफल शिक्षकहरू विकास बराल, कुविजा पोख्रेल, ज्ञानोदय बराल, जीवन चापागाईं र युवराज सुवेदीलाई विशेष सम्मान गरिएको विद्यालयले जनाएको हो ।

त्यस्तै, कक्षा-५ को स्तरीकरण परीक्षामा उत्कृष्ट नतिजा ल्याउने शिक्षक संयोजकका रूपमा रविन्द्र अर्याललाई पनि सम्मान गरिएको छ । यसबाहेक माडी स्तरीय मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगितामा प्रथम हुने पुरूष र महिला खेलाडी शिक्षकहरूलाई पनि सम्मान गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा नेपालको प्रादेशिक पहिचान झल्किने गरी राउटे नृत्य (पहिलो पटक माडीमा प्रस्तुत), देउडा, नेवारी, गुरुङ, थारु तथा शास्त्रीय नृत्य प्रस्तुत गरिएको थियो । साथै मोबाइलको बढ्दो प्रयोगबाट परिवारमा देखापरेका समस्याबारे आधारित नाटकले दर्शकको ध्यान आकर्षित गरेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम काफ्लेको अध्यक्षतामा सञ्चालित सो कार्यक्रमको प्रमुख अतिथि रहँदै बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालले विद्यालयलाई निरन्तर सहयोग गरिरहेको र आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
बार्षिकोत्सवकै अवसरमा आयोजित रक्तदान कार्यक्रममा १०२ जनाले रक्तदान गरेका थिए, जसमा नयाँ तथा महिला रक्तदाताको सहभागिता उल्लेखनीय रहेको विद्यालयका प्रधानाध्यापक प्रसुन श्रेष्ठले जानकारी दिनुभयो । विद्यालयले साताव्यापि कार्यक्रमहरुसहित उल्लेख्य अभिभावकहरूको उपस्थितिमा ५४औँ वार्षिकोत्सव मनाएको हो ।

