१८ माघ, माडी । नेपाल चलचित्र पत्रकार संघ नेपालका पूर्व अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाह (बालेन) को चुनावी प्रचार कार्यक्रममा सहभागी रहेका बेला अछाममा बेहोस भएका सिटौलाको उपचारका क्रममा आइतबार काठमाडौंमा मृत्यु भएको हो।
सिटौला अछामको मंगलसेनमा चुनावी प्रचारका क्रममा अचानक बेहोस भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका अनुसार उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको भए पनि दिउँसो १२:४५ बजे मृत्यु भएको हो।

यसैबिच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाहले चलचित्र पत्रकार दिनेश सिटौलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत श्रद्धाञ्जली अर्पण गर्दै शाहले सिटौलालाई नेपाली चलचित्र क्षेत्रको अभिभावक र आफ्नो हितैषी मित्रको रूपमा स्मरण गरेका हुन्। सिटौलाको निधनप्रति सञ्चार क्षेत्र, चलचित्रकर्मी तथा विभिन्न राजनीतिक व्यक्तित्वहरूले शोक व्यक्त गरेका छन्।


