कला-साहित्य पोष्ट

वरिष्ठ कलाकार सुनिल थापाको हृदयाघातका कारण निधन

२४ माघ, माडी । वरिष्ठ कलाकार सुनिल थापाको हृदयाघातका कारण निधन भएको छ। शनिवार (आज) बिहान थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो। कलाकार संघका अध्यक्ष मोहन निरौलाले थापाको निधनको पुष्टि गर्नुभएको छ।

लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय रहनुभएका थापा अभिनयमा आफ्नो विशिष्ट छाप छोड्न सफल कलाकार हुनुहुन्थ्यो। उहाँले नेपाली सिनेमा मात्र होइन, केही भारतीय चलचित्रहरूमा समेत अभिनय गर्दै अन्तर्राष्ट्रिय स्तरमा समेत परिचिती बनाउनु भएको थियो। विशेषगरी नकारात्मक (खलनायक) भूमिकामा उहाँको अभिनय दर्शकमाझ निकै लोकप्रिय थियो ।

शंखमुलस्थित एक अपार्टमेन्टमा बस्दै आउनुभएका थापाको निधनले नेपाली चलचित्र क्षेत्रले एक अनुभवी र समर्पित कलाकार गुमाएको छ। थापाको निधनप्रति चलचित्रकर्मी, कलाकार संघ तथा उनका शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया