२५ माघ, माडी । चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने बनकट्टा चेकपोष्ट नजिकको सडक खण्डमा धुलो नियन्त्रण गर्ने उद्देश्यले ‘मोज्याक टायल’ बिछ्याउने काम जारी रहेको छ । माडी नगरपालिकाले पहिलो चरणमा बनकट्टा चेकपोष्टदेखि ध्रुव पोष्टसम्मको करिब ४० मिटर सडक खण्डमा ‘ट्रायलका रूपमा टायल’ बिछ्याउने काम चलिरहेको हो ।
माडीका जेनजी युवाहरू सम्मिलित उपभोक्ता समितिमार्फत पहिलो चरणमा १० लाख रुपैयाँको बजेटमा काम सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष भरत ढकालले जानकारी दिनुभयो । हाल सडक छेउमा कर्बस्टोन राख्ने काम पुरा भई टायल राख्न लागिएको छ । एक साताभित्रै निर्माण कार्य काम सम्पन्न हुने अध्यक्ष ढकालले बताउनुभयो ।

‘माडी चेन्जले कुनै पार्टीको झण्डा नबोकी देशको झण्डा बोकेर काम गरेको’ उहाँले बताउनुभयो । ‘सबै पार्टीले देखाएको सपना साकार पार्न आफूहरु लागिरहेको’ भन्द उहाँले ‘सहयोगदाता माडी नगरपालिका, सम्पूर्ण माडीवासी र माडीका युवाहरूलाई धन्यवाद’ व्यक्त गर्नुभएको छ ।

पहिलो चरणको परीक्षण सफल भएमा थप सडक खण्डमा समेत मोज्याक टायल बिछ्याइने माडी नगरप्रमुख ताराकुमारी काजी महतोले बताउनुभयो । ग्राभेल सडकका कारण धुलो र आवतजावतमा समस्या हुँदै आएको भन्दै माडीबासीले लामो समयदेखि कालेपत्रे वा धुलोरहित सडकको माग गर्दै आएका छन् ।

