चितवन खबर पोष्ट

सालक संरक्षणका लागि ७ बुँदे ‘माडी घोषणापत्र’ जारी गर्दै प्रथम बागमती सालक सम्मेलन माडीमा सम्पन्न

२६ माघ, माडी । सालक संरक्षणका लागि ७ बुँदे ‘माडी घोषणापत्र’ जारी गर्दै प्रथम बागमती सालक सम्मेलन सोमबार चितवनको माडीमा सम्पन्न भएको छ । सम्मेलनले सालकलाई बागमती प्रदेशको गौरवको प्राणी घोषणा गर्दै संरक्षणका लागि आवश्यक बजेट व्यवस्थापन गर्न पहल गर्ने निर्णय गरेको हो ।

घोषणापत्रअनुसार सालक पाइने वन तथा संरक्षित क्षेत्रहरूमा संरक्षण र वासस्थान व्यवस्थापन, संरक्षण शिक्षा अभिवृद्धि लगायतका कार्यहरू सरोकारवाला निकायको पहलमा कार्यान्वयन गरिनेछ । साथै चोरी सिकार तथा अवैध व्यापार नियन्त्रणका लागि तीन तहका सरकार, संरक्षण साझेदार संघसंस्था र स्थानीय समुदायको सहकार्यमा सामूहिक पहल गर्ने निर्णय गरिएको छ ।

सम्मेलनको उद्घाटन बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरतबहादुर केसीले गर्नुभएको थियो । वन मन्त्रालयका सचिव डा. केदार बरालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री कृष्णप्रसाद सिलवाल, जिल्ला समन्वय समिति चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सम्मेलनमा विज्ञ तथा सरोकारवालाको सहभागितामा प्यानलगत छलफल गरिएको थियो । पहिलो सत्रमा डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णु प्रसाद आचार्य, डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राकेश चन्द्रवंशी र सालक अनुसन्धानकर्ता डा. हरि शर्माले सालकको अवस्था, हाल भइरहेका काम र गर्नुपर्ने कार्यबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै, दोस्रो सत्रमा सालककै बिषयमा विद्यावारिधी गर्नुभएका डा. तुलसी लक्ष्मी सुवाल, वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्य र बागमती प्रदेश वन मन्त्रालयका सचिव डा. केदार बराल सहभागी प्यानल छलफल गरिएको थियो ।

डिभिजन वन कार्यालय चितवनको संयोजनमा ‘प्रकृतिको साथी सालकको संरक्षण गरौं’ भन्ने नाराका साथ सम्पन्न सो सम्मेलन मार्फत संसारभर संकटापन्न स्तनधारी प्राणीका रूपमा सूचीकृत सालक संरक्षणका लागि बागमती प्रदेशमा क्रियाशील सरकारी निकाय, संरक्षण साझेदार संघसंस्था, संरक्षणकर्मी, विज्ञ, उपभोक्ता समूहलगायत सरोकारवालाले गम्भीर चासो देखाएको कार्यालय प्रमुख बिष्णु प्रसाद आचार्यले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार