२८ फागुन, माडी । माडी कार्यपालिकाको कार्यपालिका बैठकले प्रदेश समपूरक अनुदानबाट तीनवटा सडक निर्माण योजना छनौट गरेको छ । बुधबार बसेको नगर कार्यपालिकाको ६५औं कार्यपालिका बैठकले पूर्वी, मध्य र पश्चिमी माडीका १/१ वटा सडक कालोपत्रेको योजना चयन गरेको हो ।
बैठकको निर्णयअनुसार वडा नं. १ को सेरुवादेखि शिखारीपुर, त्रिचोक हुँदै कल्याणपुर रातोपहिरो सम्मको सडक, वडा नं. ९ को धम्पुसचोकबाट नमुना बस्ती, खरिकुना हुँदै वडा कार्यालय जाने सडक तथा वडा नं. ५ र ६ को क्रसर प्रभावित क्षेत्र (ढिकुरबारी-मजुवा हुँदै रामराज्यपुर जाने) सडक कालोपत्रे गर्ने योजना छनौट गरेको हो ।
कार्यपालिका बैठकले यी सबै योजनाहरू नगरको तर्फबाट आवश्यक लागत सहभागिता बेहोर्ने प्रतिबद्धता सहित प्रदेश सरकारसमक्ष प्रस्ताव पठाउने निर्णय गरेको माडी नगरप्रमुख ताराकुमारी काजी महतोले बताउनुभयो । स्थानीय बासिन्दाको आवतजावत सहजता, कृषि उत्पादन ढुवानी र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षासहित बैठकले सो योजनाहरु चयन गरेको उहाँको भनाई छ ।




