२८ फागुन, माडी । बढ्दो बजारीकरणसंगै आफ्नै सुरक्षा अंगको आवश्यकता महसुस गरी माडी कार्यपालिकाले नगर प्रहरी बल खडा गर्ने भएको छ । बुधबार सम्पन्न ६५औं कार्यपालिका बैठकले स्वीकृत दरबन्दी अनुसारको ३ जनाको संख्यामा नगर प्रहरीहरु सेवा करारमा लिने निर्णय गरेको हो ।
नगर प्रहरी बल गठनका लागि माडी नगरपालिकाले २०७७ सालमै ’नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन कार्यबिधी’ पारित गरी नगर प्रहरी राख्ने नीतिगत आधार तयार गरिसकेको छ । सोही कार्यविधि अनुसार हाल सानो (३ जनाको) संख्यामा नगरप्रहरीको भर्ना खोल्न लागिएको माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालले जनाउनुभयो ।
नगर प्रहरीले सार्वजनिक आवागमनमा बाधा पुग्नेगरी राखिएका निर्माण सामग्री, पसल, व्यवसाय, ठेला आदि हटाउने तथा सार्वजनिक जमीनको संरक्षण र अनुगमन गर्ने जिम्मेवारी पाएका हुन्छन् । त्यसैगरी नक्सा पास नगरी भवन निर्माण भए बल प्रयोग गरेरै भएपनि भत्काउने, छाडा पशुचौपाया र सडक कुकुर नियन्त्रण गर्ने, बजारमा खाद्य अनुगमन गर्ने लगायतका जिम्मेवारीहरु नगर प्रहरीमा रहेको हुन्छ । (प्रतिकात्मक फोटो)




