१० चैत, माडी । बिक्रमबाबाको पूजा एवं मेला भर्न जानेआउनेहरुको सवारीको चाप बढ्दै गएसंगै माडी नगरपालिकाले निकुञ्जभित्र बाटोमा पानी हाल्न थालेको छ । धुलाम्य सडकका रुपमा कुख्यात रहेको बनकट्टा कसरा सडक खण्डमा माडी नगरपालिकाको ट्यांकर जडित ट्रयाक्टरबाट पानी हाल्न थालेको हो ।
सडकमा पानी हालिएसंगै धुलोको मात्रा केहि कम भएको देखिएको छ । तर ९ किलोमिटर लामो सो सडकमा एकवटा ट्रयाक्टरबाट मात्रै पानी हालिदा पर्याप्त भने हुन सकेको छैन । रामनवमी चैतेदशैंको समयमा सो सडकमा साविक भन्दा धेरै नै बढी सवारी साधन चल्ने र भीडभाड समेत हुनेगर्छ ।
बिक्रमबाबाको मेला हरेक बर्ष चैत्र औंसीदेखि पूर्णिमासम्म मेला लाग्ने गर्छ । विक्रम बाबाको पूजा परापूर्व कालदेखि थारु जातिले गर्ने भएपनि पछिल्लो समय अन्य जातजातीहरुको पनि यसमा आस्था बढेको देखिन्छ । चैते दशैंमा हजारौ भक्तजनले विक्रम बाबा दर्शन गर्ने र पशु पंक्षी वली दिने गर्दछन् ।




