चितवन खबर पोष्ट

भौतिकवादी समाज, नेपालको अध्यक्षमा पुनः वैद्यनाथ श्रमजीवि चयन (सम्मेलनको भिडियोसहित)

९ चैत, माडी । भौतिकवादी समाज, नेपालको केन्द्रीय अध्यक्षमा पुनः वैद्यनाथ श्रमजीवि चयन हुनुभएको छ । माडी–४, खैरहनीस्थित कृषि पाठशालामा सञ्चालित प्रथम राष्ट्रिय सम्मेलनबाट वीरगञ्ज निवासी पूर्व शिक्षक श्रमजीविको अध्यक्षतामा १९ सदस्यीय राष्ट्रिय कार्यसमिति र ६ सदस्यीय सल्लाहका समिति चयन भएको हो ।

संस्थाको सचिवमा रामदेव पाण्डे चयन हुनुभएको छ भने अन्य १७ जना केन्द्रीय सदस्य चयन भएका छन् । जसअन्तरगत चितवनबाट ओमनाथ पाण्डे, भगवती अर्याल र प्रभास भुल (सी) रहनुभएको छ ।

अन्य केन्द्रीय सदस्यहरुमा शिवकुमार महरा, भोगीराज यादव, रोशन जनकपुरी, सावित्रा सिवाकोटी, बालकृष्ण दियाली, अशोक स्मित, सुरज राई, भागिरथी प्रकृति, शमसेर, फुलमती, रामचन्द्र त्रिपाठी, पद्म पोखरेल, सुदीप गहतराज रहनुभएको छ । सल्लाहकारहरुमा चितवनका सन्देश पौडेल सहित रामरिझन यादव, दर्शन किराँती, किशन शर्मा, प्रमोद धिताल र धर्मराज गुरुङ रहनुभएको छ ।

अन्धविश्वास, कुसंस्कार र पाखण्डी प्रवृत्तिविरुद्ध सचेतनामा सक्रिय सो संस्थाले अन्त्य गरौँ अन्धविश्वास र रूढीवाद, आत्मसात् गरौँ वैज्ञानिकता र भौतिकवाद’ भन्ने नारासहित माडीमा राष्ट्रिय सम्मेलन सम्पन्न गरेको हो । सम्मेलनमा देशभरबाट भौतिकवादी विचारधारा अवलम्बन गर्ने प्रतिनिधि, बुद्धिजीवी, सामाजिक अभियन्ता तथा प्रगतिशील नागरिकहरू सहभागी रहेका थिए ।

सम्मेलनमा बोल्दै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय महासचिव विश्वभक्त दुलाल ‘आहुति’ले भौतिकवादी समाजको स्थापना सजिलो प्रक्रियाबाट नभई इतिहासभरिका असंख्य बलिदान र संघर्षको परिणाम भएको बताउनुभएको छ ।

उहाँले भौतिकवादीहरूलाई आफ्ना व्यक्तिगत दुःखलाई अत्यधिक महत्व नदिन र संघर्षलाई सकारात्मक रूपमा लिन आग्रह गर्नुभयो । भौतिकवादी संस्कृतिको व्याख्या गर्दै उहाँले आडम्बरीपन र देखावटी व्यवहारबाट टाढा रहनुपर्ने बताउनुभयो।

आहुतिले सामाजिक योगदानको मूल्यांकन व्यक्तिगत प्रचार वा आर्थिक हैसियतका आधारमा गर्न नहुने धारणा राख्दै भन्नुभयो, “कल्याणका कामहरू राम्रो हो, तर त्यसलाई महानताको कसी बनाउनु हुँदैन। भौतिकवादले त्यस्तो प्रवृत्तिलाई अस्वीकार गर्नुपर्छ।”

त्यस्तै, बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का पोलिटब्युरो सदस्य सन्देश पौडेलले ‘दलहरूको केन्द्रदेखि प्रदेश र जिल्ला तहसम्मको बैठक एवं भेलाहरू सञ्चालन गर्दा ठूलो आर्थिक भार रहनेगरेको’ औंल्याउनुभयो ।

त्यसैगरी, पार्टीहरूको कार्यशैलीप्रति पनि उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । कमिटी गठन, सदस्यता वितरण तथा भेला-सम्मेलन आयोजना गर्नुलाई मात्र ‘काम’ ठान्ने प्रवृत्ति बढ्दै गएको भन्दै यसले वास्तविक राजनीतिक उद्देश्य ओझेलमा परेको उहाँको भनाइ थियो ।

नयाँ पिंढीलाई भौतिकवादी दर्शनका गह्रौं शव्दावली सिकाउनुभन्दा सहज तवरबाट विज्ञानसंग जोडिदिए उनीहरुले भौतिकवादी जीवनशैली स्वतःस्फूत अपनाउने उहाँको भनाई थियो । सम्मेलनले नेता पौडेललाई केन्द्रीय सल्लाहकार चयन समेत गरेको छ ।

तपाईको प्रतिक्रिया