निकुञ्जका अनाथ तथा समस्या ग्रस्त बन्यजन्तुहरुको संरक्षणमा समस्या

216
SwadeshPost

चितवन राष्ट्रिय निकुञ्जलाई टुहुरा, अनाथ र समस्या ग्रस्त बन्यजन्तुको संरक्षणमा समस्या परेको छ । बेसहारा वन्यजन्तुको व्यवस्थापन गर्नका लागि आवश्यक भौतिक पुर्वाधारहरुको अभाव तथा माउँ जनावर नहुनु र आवश्यक स्याहार सुसार गर्न नसकिएका कारण संरक्षणमा समस्या परेको निकुञ्जले जनाएको छ । बेसहारा बनेका वन्यजन्तुको उपचार र आहार खरिदको लागि आर्थिक अभाव हुने गरेको निुकञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो ।

बेसहारा वन्यजन्तु राख्न कसरामा स्थापना गरिएको स्याहार केन्द्र सञ्चालन गर्नका लागि पनि समस्याहरु देखिएका छन् । टुहुरा अनाथ र समस्याग्रस्त जंगली जनावरहरुको व्यवस्थापन गर्नका लागि भौतिक पुर्वाधारको अभाव रहेको निकुञ्जका रेन्जर विष्णु थपलियाको भनाई थियो । टुहुरा अनाथ भन्दा पनि समस्या ग्रस्त वन्यजन्तुको संरक्षणमा समस्या भएको बताउदै उहाँले भन्नुभयो “उनीहरुको व्यवस्थापन गर्न औषधी उपचार र आहारको समस्या पर्ने गरेको छ ।”

निकुञ्जमा बाघ र गैंडा स्याहार गर्नका लागि दुई वटाको मात्र क्षमता रहेको रेन्जर थपलियाले जानकारी दिनुभयो । भौतिक पूर्वधार अभावका कारण बन्यजन्तु थपिनासाथ बैंकल्पिक उपायको खोजी गर्नुपर्ने बताउँदै उहाँले पर्याप्त बजेट अभावको कारण थप समस्या परेकोले छुट्टै कोषको व्यवस्था हुनुपर्ने बिचार व्यक्त गर्नुभयो ।

टुहुरा, अनाथ र समस्या ग्रस्त बन्यजन्तुहरु जोगाउज प्राकृतिक बासस्थान र पुनस्र्थापना केन्द्रको पनि व्यवस्था हुनु पर्ने संरक्षणकर्मीहरुले बताएका छन् । माउँवाट छुट्टिएर निकुञ्ज प्रशासनको शरणमा रहेका दुर्लभ पाटेबाघ र एक सिंगे गैंडाका बच्चाहरु स्याहार सुसारको अभावले मर्ने गरेका छन ।

SwadeshPost