माडीमा देखिएको कालो किराको झुण्ड कफी सलह रहेको पुष्टी

643
SwadeshPost

माडीको राधापुर गाउँमा देखिएको कालो रंगको फट्याङ्ग्रा जात किराको झुण्ड फरक जातको सलह किरा रहेको पुष्टी भएको छ । सो किराको झुण्ड कफी लोकस्ट जातको सलह किरा रहेको कृषि ज्ञान केन्द्र भरतपुरले पुष्टी गरेको हो ।

कफी सलहले समेत बिरुवा र पातहरु खाएर विनाश गर्ने भएकाले सजगता अपनाउन आवश्यक रहेको कृषि ज्ञान केन्द्रको भनाई छ । तर कफी सलह अरु जातको सलह जस्तो धेरै ठूलो झुण्डमा नहुने भएकाले तत्कालै आत्तिनु पर्ने नपर्ने जनाइएको छ । माडी ५ राधापुर क्षेत्रमा धानखेतसंगै रहेका बुट्यान र झाडीहरुमा सो किराको झुण्डहरु देखापरेको थियो । सो किराले बिरुवाको पात खानेगरेको र झुण्डमै उडेर एक बिरुवाबाट अर्कोमा पुगिरहेको देखिएको थियो ।

कहिल्यै नदेखिएको कालो रंगको सलहजस्तै किरा देखिएसंगै कृषकहरुले स्वदेश एफ.एम.लाई खबर गरेका थिए । यसअघि चितवनका विभिन्न स्थानसंगै माडी क्षेत्रमा समेत सलह किरा देखिएको थियो । तर सो किराहरुको रंग खैरो देखिएको थियो । माडीमा देखिएको कालो रंगको सलहजस्तै किराको विवरणसंगै तस्वीर र भिडियो स्वदेश एफ.एम.ले सम्बन्धित निकायहरुमा पठाई अनुसन्धानका लागि अनुरोध गरेको थियो ।

SwadeshPost