

चितवन, माडी — नेपाल शिक्षक महासंघको आह्वानमा जारी राजधानीकेन्द्रीत शिक्षक आन्दोलनका कारण माडीका विद्यालयहरुमा समेत परीक्षाफल (रिजल्ट) प्रकाशन र नयाँ भर्ना अभियान प्रभावित भएको छ ।

माडीका धेरैजसो विद्यालयहरुमा गत शैक्षिक बर्ष २०८१ को बार्षिक परीक्षा मूल्याङ्कन तथा नतिजा प्रकाशन अवरुद्ध रहनुका साथै नयाँ शैक्षिक बर्ष २०८२ को नयाँ भर्ना अभियान सुरू हुनै नसकी प्रभावित रहेको हो । हरेक बर्ष बैशाख २ गते सरकारले नयाँ भर्ना अभियान चलाउने गर्दछ ।

“यो परिस्थिति विद्यालयको नियन्त्रण बाहिरको भएकाले विद्यार्थी र अभिभावकज्यूहरूलाई केही समय धैर्यपूर्वक पर्खन अनुरोध गर्दछौं,“ एक विद्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । विद्यार्थीहरूलाई खाली समयलाई स्व–अध्ययन, कमजोर विषयहरूमा अभ्यास एवं शैक्षिक स्रोतहरूको प्रयोगलाई प्राथमिकता दिन विद्यालयहरुको आग्रह छ ।

महासंघले संसद्को वर्षे अधिवेशन तत्काल बोलाएर, विशेष अधिवेशन आह्वान गरेर वा अध्यादेशबाट शिक्षा ऐन जारी गर्नुपर्ने अडान राखेको छ । माग पुरा नभए विद्यार्थी भर्ना अभियानमा सहभागी नहुने, कक्षा १२ को परिक्षा कार्यक्रममा सहभागी नहुने र एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने निर्णय सहित शैक्षिक हडताल जारी राख्ने महासंघको अडान छ ।