चितवन खबर पोष्ट

चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु पीडित र प्रभावितलाई एक करोड २३ लाख बढी राहत वितरण

माडी, चितवन — चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुको आक्रमणबाट प्रभावित स्थानीयवासीलाई एक करोड २३ लाख ६ हजार ८४२ रुपैयाँ राहत वितरण गरेको छ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गत साउनदेखि चैत मसान्तसम्ममा निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका ४१२ वटा घटनामा राहतस्वरूप सो रकम प्रदान गरिएको हो। उहाँका अनुसार वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका आठ जनाको परिवारलाई प्रतिव्यक्ति १० लाखका दरले जम्मा ८० लाख रुपैयाँ वितरण गरिएको छ।

त्यस्तै, घाइते २७ जनाको उपचार खर्चस्वरूप १६ लाख ९३ हजार ६४२ रुपैयाँ, खाद्यान्नबाली क्षतिका २४४ घटनामा १४ लाख १७ हजार रुपैयाँ, ९५ वटा पशुधन क्षतिका लागि ९ लाख १९ हजार ७०० रुपैयाँ राहत उपलब्ध गराइएको छ।

यसका अतिरिक्त १८ वटा घरगोठ क्षतिमा १ लाख ६६ हजार, १३ भण्डारण गरिएको अन्नबालीमा ८३ हजार तथा कुखुराको क्षतिमा २७ हजार ५०० रुपैयाँ राहत प्रदान गरिएको निकुञ्जले जनाएको छ।

सूचना अधिकारी थापामगरका अनुसार, “वन्यजन्तु मानव बस्तीमा पसेर गर्ने क्षतिको परिपूर्ति हुन नसक्ने भए पनि केही राहत होस् भन्ने उद्देश्यले निकुञ्जले राहत वितरण गर्दै आएको हो।” वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण गर्न निकुञ्जले राहत कार्यक्रमसँगै विभिन्न चेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको उहाँले जनाउनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार